तनहुँको म्याग्दे गाउँपालिका–५ का हेमबहादुर थापा जनगणपति माध्यमिक विद्यालयमा भेटेरीनरी अध्ययन गरिरहनुभएको छ । अठार महिने भेटेरीनरी शिक्षा अध्ययन गर्नुभएका उहाँलाई गाउँपालिकाले रु २५ हजार छात्रवृत्तिबापत प्रदान गरेको छ । प्रिडिप्लोमाअन्तर्गत १८ महिना अध्ययन गर्दा लाग्ने शुल्कबापतको ५० प्रतिशत रकम गाउँपालिकाले छात्रवृत्तिबापत वितरण गरेको छ । “अहिलेको आवश्यकता प्राविधिक शिक्षा भएकाले भेटेरीनरी अध्ययन गर्ने निर्णय गरेको हुँ, त्यसमाथि गाउँपालिकाले यो शिक्षा अध्ययन गर्दा छात्रवृत्ति दिएर प्रोत्साहन गरेको छ”, उहाँले भन्नुभयो ।
म्याग्दे गाउँपालिका–६ का ज्योति राना पनि सोही विद्यालयमा भेटेरीनरी अध्ययन गरिरहनुभएको छ । “प्राविधिक शिक्षा अध्ययनपछि रोजगारी सहजै पाइने भएपछि यो विषयमा रुचि बढ्यो”, उहाँले भन्नुभयो, “गाउँपालिकाले यो विषय अध्ययन गर्नेलाई प्रोत्साहन गर्ने नीतिले अध्ययनमा सहयोग पुगेको छ ।”
गाउँपालिकाले भेटेरीनरी अध्ययन गर्ने ११ विद्यार्थीलाई जनही रु २५ हजारका दरले रु दुई लाख ७५ हजार छात्रवृत्ति रकम वितरण गरेको छ । म्याग्दे गाउँपालिका–३ स्थित जनगणपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कूल खर्चको ५० प्रतिशत रकम छात्रवृत्तिबापत उपलब्ध गराइएको लेखा अधिकृत नवराज पोख्रेलले जानकारी दिनुभयो ।
गाउँपालिकामा पहिलोपटक भेटेरीनरी विषयको अध्यापन सुरु भएको हो । प्राविधिक उत्पादन गर्ने उद्देश्यसहित प्रोत्साहन होस् भन्नका लागि छात्रवृत्ति रकम उपलब्ध गराइएको पोख्रेलले बताउनुभयो । उक्त विद्यालयमा अध्ययनरत हेमबहादुर राना, ज्योति राना, सोमलाल परियार, अमन थापा, ममता नेपाली, लक्ष्मी विश्वकर्मा, सलिना आले, अनुपा थापा, पूजा विक, सविन घिमिरे र इश्ना थापामगरले छात्रवृत्ति पाउनुभएको छ ।
“पालिकाभित्रका गरिब तथा विपन्न वर्गको छात्रछात्रालाई शिक्षामा सहज पहुँच र भेटेरीनरी शिक्षामा आर्कषण गर्ने हेतुले पालिकाको स्वीकृत बजेटबाट छात्रवृत्ति उपलब्ध गराएका हौँ”, पोख्रेलले भन्नुभयो । स्थानीयस्तरमै प्राविधिक उत्पादन गर्ने उद्देश्यसहित भेटेरीनरी पढाइ सुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढाउन र यसको महत्व बुझाइ स्वनिर्भर तथा आत्मनिर्भर बनाउने उद्देश्य राखेका छौँ”, श्रेष्ठले भन्नुभयो । उहाँले प्राविधिक शिक्षापछि कोही पनि बेरोजगार बस्नुनपर्ने बताउँदै आगामी वर्ष पनि छात्रवृत्तिलाई निरन्तरता दिइने बताउनुभयो ।