पहिरोपीडितलाई स्थान्तरणको तयारी

  माघ २७, २०७९

धनकुटा नगरपालिकका वडा नं ८ स्थित याक्ते गाउँका पहिरा विस्थापित परिवारलाइ स्थान्तरण गरिने भएको छ । विस्थापितलाई धनकुटा– ७ स्थित बजार क्षेत्रको श्रीवानीमा स्थानान्तरण गर्ने अन्तिम तयारी भइरहेका जनाइएको छ ।

नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति उपेन्द्र खनालले सङ्घीय, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा विस्थापितका लागि रु ७५ लाख बराबरको सात रोपनी जमिन खरिदको सम्झौता भइसकेको जानकारी दिनुभयो ।

हाल सरकारले जमिनको कित्ताकाट रोकेकाले उक्त जमिन वर्गीकरण गरेर कित्ताकाट गर्ने मापदण्ड तयार गर्नका लागि परामर्शदाता मार्फत काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

“परामर्शदाताको प्रतिवेदन आएपछि कित्ताकाटका लागि नगरबाट सम्बन्धित निकायमा सिफारिस गरेपछि तुरुन्त काम हुनेछ”,उहाँले भन्नुभयो, “आउने बर्खाअघि नै पीडितहरुलाई स्थान्तरण गरिने छ ।” उनीहरुलाई प्रतिघर चारदेखि पाँच आनासम्ममा तीनै तहको सरकारको साझेदारीमा नमुना घरबासको व्यवस्था गरेर स्थानान्तरण गरिने सम्पर्क व्यक्ति खनालले जानकारी दिनुभयो ।

प्रदेश सरकारले दिने रकम जम्मा नगरेको भए पनि जमिन कित्ताकाटको काम सकिएपछि सो रकम नगर आफैँले व्यवस्थापन गरेर भए पनि उनीहरुलाई स्थानान्तरण गरिने उहाँले जानकारी दिनुभयो ।

स्थानान्तरण पछि उनीहरुको जीवनायापनका लागि नगरपालिकाले थप व्यवस्थापनको काम गर्ने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया