किसानलाई सहयोगी बन्दै ‘सहकारी’

  माघ २६, २०७९

कञ्चनपुरको ग्रामीण बस्तीमा पछिल्लो समय विभिन्न आयमूलक कृषि व्यवसाय अँगालेका किसानलाई सहकारी सहयोगी बन्दै गएको छ। कम आयस्रोत भएका किसानले बस्तीमा किसानकै नेतृत्वमा बनेका सहकारीमा मासिक बचतदेखि सहुलियत ऋणसम्मको सुविधा पाउने भएकाले उनीहरुलाई आत्मनिर्भर बन्न सहज भएको हो । कञ्चनपुरका नौवटै पालिकाकामा रहेका सहकारीमा किसान आवद्ध भइ तरकारी खेती, पशुपालन, कुखुरा पालन, बङ्गुरपालन, माछापालनलगायत व्यवसायमा सक्रिय हुने क्रम बढिरहेको छ ।

त्यस्तै यहाँ आर्थिक गतिविधि फराकिलो भएका ठूला सहकारी र विभिन्न दातृ निकायले पनि गाउँमा कृषि सहकारी र समूहमा आवद्ध किसानलाई अनुदान एवं प्राविधिक सहयोग पनि गर्दै आएका छन् । बस्तीमा एकजुट बगरखेती किसान समूह गठन गरेर आफूहरु तरकारी खेतीमा लागेको कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउका सुदराम चौधरीले बताउनुभयो । न्यून आयस्रोत भएका यहाँका बीस राना र चौधरी समुदायका किसान मिलेर सञ्चालनमा ल्याइएको उक्त समूहमा मासिक बचत समेत गर्ने गरिएको छ ।

“समूहका सदस्यले मलखाद किन्नेदेखि व्यवसाय बढाउन धेरैजसो समूहबाट ऋण लिने गर्छन् ।” उहाँले भन्नुभयो,“मासिक रु ५० बचत गछौँ ।”यहाँ सहकारीमा आवद्ध किसानले सामूहिकरुपमा दोदा नदीमा तरकारी खेती गरेर मुनाफा लिइरहेका छन् ।

त्यसैगरी भीमदत्त नगरपालिका–१० तिल्केनीस्थित खप्तड कृषि सहकारी संस्था पनि यस क्षेत्रका किसानको सारथी नै बनेको छ ।

उक्त सहकारीले पछिल्लो समय दुग्ध व्यवसायीलाई आयमूलक व्यवसायमा आवद्ध गराउँदै आएको छ । सो क्षेत्रमा व्यावसायिकरूपमा केराखेती गर्ने अधिक छन् । यहाँ उक्त सहकारी र कृषि ज्ञान केन्द्रको सहयोगमा केरा चिस्यान घर–निर्माण गरिएको उक्त सहकारीका अध्यक्ष पूर्णसिंह साउदले बताउनुभयो । “दुई सय दूध सङ्कलक र अन्य किसानसहित चार सय बढी शेयर सदस्य छन् ।” उहाँले भन्नुभयो, “व्यावसायिकरूपमा कृषि पेसामा आवद्ध किसान लाभान्वित छन् ।” यहाँस्थित उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले सहकारीका माध्यमबाट चार हजार कृषक कृषिमा जोडिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया