आयआर्जन गर्दै ‘ब्युटीसियन’ महिला

  माघ २६, २०७९

कैलालीमा सयौँ महिला ‘ब्युटीसियन’ पेसामा आबद्ध छन् । महिलाले सीप सिकेर ब्युटीपार्लर खोली आर्थिकरुपमा सफलता पाएका छन् । महिलाहरु आयआर्जनका कार्यमा लाग्दा परिवार व्यवस्थापनमा सहयोग पुगेको छ ।

कैलालीको लम्कीकी यशोदा मास्के जिसीले ब्युटीपार्लर खोलेको १५ वर्ष भयो । पन्ध्र वर्षमा उहाँ सीपमा दक्ष हुनुका साथै अरुका लागिसमेत प्रेरणाको स्रोत बन्दै आउनुभएको छ । सुरुमा रहरले यो पेसामा लाग्नुभएकी मास्के आजभोलि सन्तुष्ट हुनुहुन्छ । “विगतमा गाह्रो थियो, अहिले राम्रो छ, आजभोलि पेसासँगै नयाँ बहिनीहरुलाई सिकाउने काम पनि गरिरहेकी छु”, उहाँले भन्नुभयो, “यो पेसाले आत्मविश्वास बढाएको छ, जीवन पनि सहज बनाएको छ ।”

यही पेसाले आर्थिक अवस्थामा सुधार आएको उहाँको भनाइ छ । “दैनिक कमाइ हुन्छ, जसले घरखर्च चलाउन सहज भएको छ”, मास्केले भन्नुभयो, “दिनभरि महिलालाई सिगार्ने पेसाले हामीलाई धेरै कुरा दिएको छ ।”लम्की चुहाकै तुल्सीदेवी न्यौपानेले साना बच्चा छाडेर यो सीप सिक्नुभयो । त्यो बेला साना बच्चा हुर्काउनु र अर्कोतिर सीप सिक्न निकै कठिन थियो ।

हाल आर्थिक अवस्था सुधार गर्न र बालबालिकामाथि लगानी गर्न यो पेसाले सहज बनाएको उहाँको भनाइ छ । “अहिले आफैँले कमाएर खर्च गर्न पाइएको छ, अरुसँग माग्नु परेको छैन”, उहाँ भन्नुहुन्छ, “यो पेसाले आर्थिक अवस्थामा सुधार ल्यायो, बालबच्चाका आवश्यकता पूरा गर्न सकिएको छ, आफू बेरोजगार हुनुपरेको छैन ।”

टीकापुरकी निता विष्ट रावलले बच्चा हुर्काएपछि खाली समय सदुपयोग गर्न ब्युटिपार्लर सिक्नुभयो । सिकेको सीप व्यवहारमा उतारौँ भनेर यो पेसा अगालेकी निताले सुरुमा रु एक लाखबाट पार्लर सुरु गर्नुभयो । उहाँले यही पसलबाट धेरै प्रगति गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया