दृढ इच्छाशक्तिसँगै लगनशीलता हुने हो भने तरकारी खेतीका लागि जग्गा नै चाहिन्छ भन्ने छैन । घरको छातमा पनि राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ यहाँकी होटल व्यवसायी डिलमाया कार्की ।
पोखरा महानगरपालिका–१७ आँखा अस्पताल चोकमा होटल व्यवसाय गर्दै आउनुभएकी कार्कीले कौसीमा तरकारी खेती गरेर थप आम्दानी गर्नुभएको छ । उहाँ यस क्षेत्रका महिलाका लागि उदाहरणीय बन्नु भएको छ । कार्कीको कौसीमा यतिखेर लटरम्म गोलभेडा, ब्रोकाउली, धनियाँ, लसुनको साग, रायोसागलगायत तरकारी फलेका छन् । साथै उहाँ काँक्रो, घिराँैला, करेला, चिचिन्ना, लौका जस्ता लहरे बालिका बिरुवा रोप्ने तयारीमा हुनुहुन्छ ।
“होटलमा आउने पाहुनाका लागि कौसीमा फलेका तरकारी पकाउने गरेको छु”, उहाँले भन्नुभयो । होटलबाट निस्केको फोहरलाई कम्पोष्ट मल बनाएर कौसीको तरकारी खेतीमा प्रयोग गर्ने गरेको उहाँको भनाइ थियो । ग्राहक नभएको बेला तरकारीको हेरचाह गर्न कौसी जानुहुन्छ उहाँ । कार्कीका अनुसार उत्पादन भएको अर्गानिक तरकारीले परिवारलाई मात्र नभएर व्यवसायलाई समेत पुगेको छ ।
घरको माथिल्लो तल्लाको छतमा तरकारीका क्यारेट, गमला, रङ्गका बट्टामा विभिन्न जातका तरकारीका बोट छन् । कार्की भन्नुभयो, “भान्छामा तरकारीको आवश्यकता पर्ने बित्तिकै झोला र पैसा लिएर पसलमा होइन चक्कु लिएर घरको भ¥याङ चढ्छु ।”
तरकारीसँगै उहाँको छतमा खोर पनि छ । खोरमा उन्नत जातका गिरिराज कुखुरा पाल्दै आउनुभएको छ । अहिले खोरमा दुईवटा भाले र आठ वटा पोथी छन् । “आवश्यकता अनुसार घरमै उत्पादन भएको कुखुराको मासुले पाहुनालाई स्वागत गर्न पाउँदा रमाइलो लाग्छ, यसबाट आम्दानीसमेत भएको छ”, उहाँले रासससँग बताउनुभयो ।






