विद्युतीय चार्जिङ स्टेसनको परीक्षण सञ्चालन

  माघ २६, २०७९

बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित इलाका प्रहरी कार्यालय बर्दिबास परिसरमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि विद्युतीय चार्जका सवारीसाधन ९इभी० का चालक दङ्ग छन् । यो स्टेसन सञ्चालनमा आएपछि सवारीसाधन चार्ज गर्न निकै सहज भएको इभी सवारी चालकको भनाइ छ ।

पूर्वपश्चिम राजमार्गसँगको बर्दिबास–सिन्धुली–काठमाडौँ, बर्दिबास–गाईघाट–चतरा, बर्दिबास–मन्थली–दोलखा र बर्दिबास–घुर्मी–ओखलढुङ्गासँगै खोटाङ र सोलुखुम्बुसम्मको रुटको मुख्य सङ्गमस्थल ९बर्दिबास०मै सञ्चालनमा आएको विद्युतीय चार्जिङ स्टेसनले अहिले निकै राहत दिएको हो । अहिले परीक्षणकै क्रममा रहेको चार्जिङ्ग स्टेसनमा सवारी साधनका लाम देखिन्छन् ।

चार्ज गर्न पाइएको सहजताले अब इभी साधन नै चलाउने मनस्थितिमा सवारी व्यवसायी देखिन थालेका छन् । यस भेगमा इभी ९विद्युतीय चार्जका सवारी साधन० को ‘क्रेज’ बढ्दै छ । दिनहुँ यस्ता नयाँ साधन सडकमा थपिएका छन् ।

“कता होला चार्जिङ स्टेसन भनेर सोधखोज गर्नुपर्ने र रुमलिने स्थिति अन्त्य भएछ”, सानो कारका चालक प्रशान्त झाले भन्नुभयो, “यहाँ त सडकको छेउमै परैबाट देखिने ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा आएछ, धेरै सजिलो भयो ।” यो स्टेसनको सञ्चालनले इभी साधनको प्रचार र प्रवद्र्धनमा बल पु¥याएको झाको ठम्याइ छ ।

पहाड, मधेसका विभिन्न सडक सञ्जालको मुख्य सङ्गमस्थल रहेको बर्दिबासमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि इभी सवारीसाधनको प्रयोग र यिनको प्रवद्र्धनमा बल पुगेको यस्ता साधनका धनी र चालकको भनाइ छ । बर्दिबास–३ गौरीडाँडास्थित यो चार्जिङ्ग स्टेसन अत्याधुनिक प्रविधि जडित र एकपटकमा छ वटा सवारीसाधनको चार्ज गर्न मिल्ने भएको हुँदा साधनवालाले लामो समय पर्खन पर्ने अवस्था नरहेको इभी सवारी चालक बताउँछन् ।

अहिले परीक्षणका क्रममा रहेको यो स्टेसनमा दैनिक १५÷१६ सङ्ख्याका सवारीसाधनले चार्ज गर्दै आएका स्टेसन प्राविधिक सागरमान ताम्राकार बताउनुहुन्छ । “यो स्टेसनमा ‘जिविटी’ र ‘सिसिएस’ प्रणालीका अत्याधुनिक मेसिन जडित छन्, ‘जिविटी’बाट ठूला र ‘सिसिएस’बाट साना सवारी साधन चार्ज गरिन्छन्”, स्टेसनको सेवाबारे स्पष्ट पार्दै ताम्राकार भन्नुहुन्छ, “दुवै प्रणालीतर्फ एकपटकमा तीन÷तीन सवारीसाधन चार्ज हुन सक्छन् ।” इलाका प्रहरी कार्यालय बर्दिवासले उपलब्ध गराएको जग्गामा स्टेसन निर्माण भई सञ्चालनमा आएको हो । प्रहरी कार्यालय परिसरमै हुँदा स्टेसन सुरक्षा पनि सहज भएको छ ।

प्रसिद्ध चिनियाँ कम्पनी ‘वाङ् वान डिजिटल इनर्जी कम्पनी’ ले निर्माण गरेको चार्जिङ स्टेसन अब चाँडै नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी रहेको निर्माण कम्पनीको नेपालस्थित प्रतिनिधि दिगो कार्यक्रमका शिव अधिकारी बताउनुहन्छ । “हामीले नेपाल विद्युत् प्राधिकरण र वाङ् वान डिजिटल इनर्जी कम्पनीबीच भएको सम्झौताअनुरुप स्टेसन निर्माण गरेका हौँ, यो अहिले परीक्षण सञ्चालनका क्रममै छ”, अधिकारी भन्नुहुन्छ, “अब केही हप्ताभित्रै प्राधिकरणलाई हस्तान्तरण गर्दैछौँ ।”

अहिले परीक्षण अवधिमा समय तालिकाका आधारमा चार्ज शुल्क निर्धारित छ । साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रतियुनिट १० रुपैयाँ ४४ पैसा, राति ११ बजेदेखि बिहान ५ बजेसम्म छ रुपैयाँ ६० पैसा र यसबाहेका अन्य समयमा प्रतियुनिट आठ रुपैयाँ २८ पैसा शुल्क लिने गरिएको स्टेसन प्राविधिक ताम्राकार बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया