नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।
विसं २०२३ देखि सञ्चालनमा रहेको विद्युत्गृहका उपकरण पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चउरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आधुनिकीकरण थालिएको छ ।
करिब रु ७५ करोड अनुमानित लागत रहेको जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत, विद्युत्गृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरणलाई आधुनिक तथा स्वचालित बनाइनेछ । करिब चार सय रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवालाई हटाएर त्यसको पुनःस्थापनाको काम सुरु गरिएको छ ।
साथै, जलाशयको दायाँ किनारतर्फबाट ५० क्युमेक पानी बहाव क्षमताको एक हजार दुई सय मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको छ । अहिले यही बाइपास नहरमार्फत विद्युत् उत्पादन भइरहेको छ । नहर सञ्चालनमा रहेकोले विद्युत् उत्पादन बन्द नगरी जलाशयमा भरिएको माटो, बालुवा निकाल्ने काम जारी छ ।
गत वैशाखदेखि सुरु भएको जलाशयको पुनस्र्थापना यही फागुनभित्रमा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । विद्युत्गृहलाई स्वचालित बनाउने काम भने एक वर्षभित्रमा सम्पन्न हुने छ । यसका लागि ठेक्का सम्झौता भई केही उपकरण उत्पादनका क्रममा रहेका छन् भने पावर ट्रान्सफर्मरलगायतका उपकरण केन्द्रस्थलमा आपूर्ति भइसकेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले पुनःस्थापना कार्यको अनुगमन भ्रमण गरी तोकिएको समयमा सम्पूर्ण काम सक्न निर्देशन दिएको छ ।
जलाशयको पुनःस्थापना भएपछि विद्युत्गृहलाई विद्युत्को माग बढी हुने समय ९पिक०मा दैनिकरुपमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिनेछ । हिउँदमा पिकिङका लागि बाइपास नहरबाट र जलाशयमा सञ्चित गरिएको पानी प्रयोग गरी विद्युत् उत्पादन गर्न सकिनेछ ।
वर्षायाममा जलाशयलाई प्रयोगमा नल्याइने, खहरे खोलाबाट आउने लेदोलगायतलाई रोक्न संरचना निर्माण गरिएको हुँदा विगतमा जस्तो बालुवा, माटो भरिन नपाउने उल्लेख गर्दै केन्द्र प्रमुख बाबुराजा महर्जनले जलाशयको सञ्चित क्षमता गुम्न नपाउने बताउनुभयो ।






