खोलामा माछा नपाइँदा माझी र दनुवार समस्यामा

  माघ २६, २०७९

इन्द्रावती बगरमा आजभन्दा १०÷१२ वर्ष पहिले माछा मार्नेको घुइँचो लाग्थ्यो तर अहिले बगरमा अधिकांश बालुवा चाल्ने र ज्यामी काम गरिरहेका मात्र भेटिन्छन् । इन्द्रावती गाउँपालिका–११ र १२ का माझी तथा दनुवारले माछा मारेरै जीविका चलाउने गरेका थिए । पहिला खोलामा माछा कति पाइन्थ्यो भन्ने साँधी नै थिएन तर अहिले खोलामा माछा देख्नै गाह्रो भएको इन्द्रावती–१२ का बृद्ध पृथ्वीबहादुर दनुवार बताउनुहुन्छ ।

“माछा पाइने भएकाले एक ÷दुईघण्टा समय दिएपछि घरखर्च चलाउन समस्या नै हुँदैनथ्यो । घरमा तरकारी नहँदा पनि खोलामा जाने गरिन्थ्यो । एक छिनमै ल्याएको माछाले छाक टरिहाल्थ्यो । अहिले खोलामा डढेँलो नै लागेजस्तो भाको छ”, उहाँ भन्नुहुन्छ ।

“साना–ठूला माछा छेउछाउमै भेटिन्थ्यो । एउटा भङ्गालो थुन्दा एक झोला माछा जम्मा हुने गर्दथ्यो,” पृथ्वीबहादुर विगत सम्झदै भन्नुहुन्छ, ‘‘क्रसर सुरु भएपछि केही मात्रामा खोलामा माछा घटेको छ । जब २०७२ सालमा भूकम्प आयो त्यसपछि भने माछा पाइन नै छाड्यो ।’’ एक ÷दुई रुपैयाँ किलोको माछा बेच्दा पनि माछा मारेर घरखर्च पुग्ने गरेको उहाँ बताउनुहुन्छ । अहिले माछा मार्ने व्यवसाय नै धरापमा परेकाले विकल्पकरुपमा ज्याला मजदूरी गर्न बाध्य भएका दनुवार समुदाय । खोलामा प्रश्सतै माछा पाउँदा ती समुदायका अधिकांशले घरखर्च चलाउने माध्यम नै खोला बनेको थियो । बिहान घामको झुल्कोसँगै हातमा जाल र कम्बरमा गेद्रा लिएर खोलामा पुग्ने दनुवारहरु अहिले खोलामा देख्नै मुस्किल भइसकको छ । बाउबाजेदेखि गरिआएको पेसा नै धरापमा परेको छ ।
अहिले लोकल माछाको माग बढ्न थालेको र राम्रो मूल्यमा बिक्री हुने भए पनि खोलाको माछा पाइनै छाडेको छ । साविकको भीमटार गाविसका माझी तथा दनुवार समुदाय माछा मार्न र खान सौखिन थिए तर अहिले क्रसर उद्योगले आफूखुशी खोला उत्खनन गर्ने र विष प्रगोग गरेर माछा मार्ने गर्दा माझी तथा दनुवार समुदायको दैनिक गतिविधि नै विथोलिएको छ ।

“हाम्रो त जागिर, पेसा र व्यवसाय जे भने पनि खोलाको माछा हो”, सोही स्थानका अर्नुन दनुवार भन्नुहुन्छ, “अहिले नदीमा माछा घटेकाले दिनभर खोलामा डुल्दा पनि रित्तो हात फर्किनुपर्ने अवस्था छ । माछा मारेरै गुजारा गर्नेलाई हातमुख जोर्नै धौधौ परेको छ ।” उहाँको
भनाइ छ ।

नदीमा माछा घटेसँगै भीमटारमा स्थानीयवासीले पेसा नै छाडेका छन् । नदीमा क्रसर उद्योग बढेसँगै बालुवा उत्खनन् तीव्र गतिमा हुँदा माछाको सङ्ख्यामा कमी आएको छ । नदी वरपर खोलिएका क्रसरबाट निस्कने लेदो माटोका कारण पनि खोलामा माछा पाउन मुस्किल हुने गरेको छ । बाबुबाजेदेखि आफूले पनि गर्दै पेसाबाट हात धुनुपर्ने अवस्था आएको भीमटारका कृष्णबहादुर दनुवारको गुनसो छ ।

तपाईको प्रतिक्रिया