नेपालका सहरी क्षेत्रका खानेपानी प्रणालीमा पछिल्लो समय ‘स्मार्ट’ प्रविधिको उपयोग हुन थालेको छ । नवीनतम प्रविधिको उपयोगले खानेपानीको उत्पादन र वितरण सहज र प्रभावकारी समेत हुँदै गएको छ । चुहावट नियन्त्रण र मर्मत सम्भारका काम छिटो गर्न पनि सम्भव भएको छ । स्मार्ट वास सोलुसन र कोरियाको इन्टरनेशनल सेन्टर फर अर्बन बाटर हाइड्रोइन्फरमेटिक्स रिसर्च एण्ड इन्नोभेसन ९आईसीयूएच०द्वारा आयोजित गोष्ठीमा पोखराको लेखनाथ खानेपानी उपभोक्ता समितिले सो कुरालाई पुष्टी गरेको जनाएको छ ।
समितिका कार्यालय प्रमुख इञ्जिनीयर शिवप्रसाद अमात्यले समिति अन्तर्गतका आयोजना मोबाइलबाट सञ्चालन गर्न मिल्ने र खानेपानीको मुहान तथा वितरण प्रणाली खोल्ने, बन्द गर्ने, ‘क्लोरिनेशन’ गर्ने सबै काम मोबाइलबाट गर्न सकिने भएको जानकारी दिनुभयो । सन् २००८ देखि सञ्चालनमा आएको लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पोखरा महानगरपालिकाका सात वडाका ८५ हजार तीन सय ४७ जनसङ्ख्यालाई खानेपानी आपूर्ति गर्छ ।
लेखनाथ खानपानी उपभोक्ता समिति मात्रै हैन, साना सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तरगतका प्राय सबै खानेपानी आयोजना स्मार्ट प्रविधियुक्त बन्दै गएका छन् । एशियाली विकास बैंक,सरकार र स्थानीय उपभोक्ताको संयुक्त लगानीमा सञ्चालित यी आयोजना सम्पन्न भएपछि स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने परम्परा छ ।






