चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकत्व दिन्छौँ : डा कोइराला

  माघ २४, २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दैै उहाँले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस रहेको बताउनुभएको हो ।

चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि यहाँ उपनिर्वाचन हुँदैछ । कोइरालाले भन्नुभयो, “तपाइँ मतदाताहरुले फेरि दुःख पाउनु प¥यो । ढुक्क भएर लोकतान्त्रिक शक्तिलाई जिताउनेतर्फ तपाइँहरू लाग्नुस् ।”

उहाँले अन्य राजनैतिक दलहरुसँग छलफल गरेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बताउनुभयो । नेता कोइराला भन्नुभयो, “सत्तासीन केही दलले कांग्रेसले भाँजो हाल्न खोज्यो भनेका छन् तर हामी संसद्को ठूलो दल भएकाले हाम्रो जिकिर यसमा रहन्छ ।” प्रतिपक्षमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो । राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवारलाई विजयी गराउने गरी अघि बढेको नेता कोइरालाले बताउनुभयो । प्रतिपक्षी भनेको ‘गभरमेन्ट इन ओइटिङ’ रहेको उहाँको भनाइ थियो । अहिले देश अत्यन्तै अफ्ठ्यारो मोडमा रहेको बताउँदै नेता कोइरालाले यसलाई कसरी समाधान गर्ने भन्ने विषमा कांग्रेसमा छलफल भइरहेको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रेसजगत्माथि प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय सङ्गठन बनाउनुभन्दा गुट बनाउन लागेका कारण कांग्रेस कमजोर बनेको बताउनुभयो । सदस्य भटृराईले भन्नुभयो, “गुट निर्माणमा होइन सङ्गठन निर्माणमा लागाँै ।”

अर्का केन्द्रीय सदस्य डा गोविन्द पोख्रेलले कमजोरी दबाउने काममा प्रेसजगत् लाग्न नहुने बताउनुभयो । अहिले देशमा देखिएको समस्या समाधानका लागि पत्रकारहरु एक भएर लाग्नुपर्ने उहाँको भनाइ थियो । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लोकप्रियताको नाममा लोकतन्त्र सिध्याउने खेल सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र सिध्याउने खेलको विरुद्ध कलम चलाउन जरुरी छ ।”

तपाईको प्रतिक्रिया