एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा’

  माघ २४, २०७९

चोक(चोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो । उहाँ नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउनुहुन्छ ।

उहाँले हालसम्म ११ वटा देश पुगेर ती देशका राष्ट्रगान गाइसक्नुभएको छ । विश्वका सबै देशको राष्ट्रगान गाउने तयारीमा रहनुभएका उहाँ हाल ८२ देशका गान गाउने तयारीमा हुनुहुन्छ ।

जिल्लाको बागलुङ नगरपालिका(६ का ४३ वर्षीय नेपालीले राष्ट्रगान गाउँदै विश्व यात्रामा हिँडेको आठ वर्षभयो जसले उहाँलाई विश्वयात्रीका रुपमा स्थापित बनाइसकेको छ ।

सन् २०१५ देखि विभिन्न देशको राष्ट्रगान गाएर विश्व यात्रा थाल्नु भएका नेपाली अहिलेसम्म युरोपका विभिन्न देश, युएई, भारत गरी ११ देशको यात्रा गरिसक्नु भएको छ । उहाँले जुन देशमा पुग्नुहुन्छ, उही देशकै भाषमा राष्ट्र गान गाउँनुहुन्छ । पछिल्लो २५ वर्षदेखि नेपाली गीत सङ्गीतमा आबद्ध उहाँले राष्ट्रगानमार्फत् विश्वबन्धुत्वलाई थप बलियो बनाउने बताउनुभयो ।

नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्नका लागि आफूले विश्वका विभिन्न देशको राष्ट्रगान गाउँदै हिँडेको बताउनुभयो । “हाम्रो देश नेपालमा कैयन धार्मिक तथा पर्यटकीय ठाउँ छन्, अहिलेसम्म यी ठाउँमा अन्तर्राष्ट्रिय पर्यटक आउन सकेका छैनन्, उनीहरुलाई नेपाल ल्याउन, यहाँको पर्यटनलाई विश्वसँग जोड्नका लागि विश्व यात्रा थालेको हुँ”, उहाँले भन्नुभयो, “विगतमा नेपालीका लागि गाउँथे भने आज विश्वका मानिसका लागि गाइरहेको छु ।”

तपाईको प्रतिक्रिया