काठमाडौँ, माघ २३ : खानेपानीमन्त्री अब्दुल खानले नयाँ योजना थालनीभन्दा निर्माणाधीन आयोजनालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहको नेतृत्वको टोलीले आज मन्त्रालयमा गरेको भेटमा उहाँले निर्माणाधीन आयोजनामा राज्यको धेरै लगानी भइसकेको भन्दै त्यस्ता आयोजनालाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो ।
“निर्माणाधीन आयोजनामा राज्यको धेरै लगानी भइसक्ने भएकाले त्यस्ता आयोजना सम्पन्न नगरी नयाँ आयोजना अघि बढाउन हुँदैन”, उहाँले भन्नुभयो । मन्त्री खानले निर्माण कार्यलाई सहज बनाउन कानूनी प्रक्रिया सहज बनाउने तयारीमा सरकार जुटेको बताउनुभयो ।
महासङ्घका अध्यक्ष सिंहले निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भएबमोजिम २० प्रतिशत मोबिलाइजेसन पेश्की व्यवसायीले पाउनुपर्ने बताउनुभयो ।
उहाँले ऐनमा व्यवस्था भएको रकम नपाउँदा व्यवसायीहरूले ठूलो आर्थिक मार खेप्नुपरेको मन्त्रीसमक्ष बताउनुभएको थियो । भेटमा अध्यक्ष सिंहसहित वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा, महासचिव रोशन दाहाललगायत कार्यसमितिको सदस्यको सहभागिता रहेको थियो ।






