धनकुटा, माघ २२ : धनकुटाको व्यापारिक केन्द्र हिले बजारको सडक फराकिलो भएपछि यहाँको जनजीवन सहज हुनाका साथै व्यापार व्यवसाय सञ्चालनमा सहज भएको छ ।
धनकुटा नगरपालिका¬–१ स्थित मध्यपहाडी लोकमार्गसँगै रहेको यो बजार भोजपुर, सङ्खुवासभा र तेह्रथुम जिल्लाको व्यापारिक सङ्गमस्थल हो ।
धनकुटाको सदरमुकामको धनकुटा नगरपालिकादेखि १२ किमी उत्तरमा रहेको यो बजार जिल्लाको सात स्थानीय तहमध्ये चार स्थानीय तहको पनि व्यापारिक केन्द्र हो । विसं २०४० मा सडक सञ्जालले जोडिएको यो बजारमा पुरानो छ मिटरको सडक हुँदा सवारी साधन आवतजावत गर्न र व्यापार व्यवसाय गर्न निकै कठिन रहेको थियो ।
तर दुई वर्षअघि धनकुटा नगरपालिकाको पहल तथा बजारवासीका सहयोगमा १२ मिटरको विस्तार भएपछि हिले बजार सफा र फराकिलो भएको छ ।
बजार क्षेत्रको सडक फराकिलो बनाउन निकै अफ्ठ्यारो भए पनि अहिले यसबाट भएको फाइदाबाट बजारवासीहरू हर्षित रहेको प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो ।
सो योजनाका कारण रुष्ट भएका बजारवासीहरूले सोही बजारमा घर भएका प्रमुख तामाङलाई दोस्रो कार्यकालको चुनावमा पहिलाको भन्दा निकै कम मत दिएका थिए । “पहिला घरहरू भत्काउन पर्दा धेरै रिसाए तर अब सबैले बुझिसके”, तामाङले भन्नुभयो ।
फराकिलो सडक भएपछि पार्किङ गरेर आरामले किनमेल गर्न तथा व्यापार व्यवसाय गर्न सहज भएको बजारवासी तथा उद्योग वाणिज्य सङ्घ धनकुटाका सचिव राम रायमाझीले जानकारी दिनुभयो । “गाडी रोकेर किनमेल गर्न र होटलमा खानपान गर्न धेरै सहज भएको छ”, रायमाझीले भन्नुभयो ।
फराकिलो सडकले बजार सफा र सुन्दर देखिनाका साथै बजारको व्यापार तथा होटल व्यवसायहरू सञ्चालनमा सहज भएको उहाँले जानकारी दिनुभयो ।
बाटो साँघुरो हुँदा प्रायः गाडी जाम भएर हैरान बनाएको बजार क्षेत्रले अहिले मुक्ति पाएको हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र बिष्टले जानकारी दिनुभयो । “पहिला गाडी रोकेर केही किनाँै, खाजा खाऔँभन्दा अर्को गाडीको बाटो छेकिँदा हर्न बजाएर खेदिहाल्थे”, बिष्टले भन्नुभयो ।
सडक विस्तारले सवारी दुर्घटना न्यूनीकरणमा समेत महत्वपूर्ण सहयोग पुगेको उहाँले बताउनुभयो । फराकिलो सडकले सबैले व्यापार व्यवसाय गर्न सहज भएको तथा पैदल यात्रुलाई समेत सहज भएको वडाध्यक्ष वाङ्दा तामाङको भनाइ छ ।
नेपाल सरकारको दुई करोड ४७ लाख लागतमा सडक डिभिजन कार्यालय धनकुटामार्फत २०७७ साल माघमा काम सुरु भई बजार क्षेत्रको ८६ मिटर सडकको काम गएको असोजमा सकिएको छ ।
थप तीन करोड ४१ लाखको लागतमा बजारबाट धनकुटा बजार जाने १५ मिटर फराकिलो तीन सय मिटर सडक र आवश्यक संरचनाहरू निर्माणाधीन रहेको कार्यालयका इन्जिनियर विकासकुमार झाले जानकारी दिनुभयो ।






