चिलीको डढेलोमा परी तेईस जनाको मृत्यु

  माघ २२, २०७९

चिलीको दक्षिणी मध्य भागमा अत्यधिक गर्मीबीच जङ्गलमा डढेला लाग्दा कम्तीमा २३ जनाको मृत्यु भएको एक वरिष्ठ सरकारी अधिकारीले शनिबार बताउनुभएको छ ।

“डढेलोमा ज्यान गुमाउने २३ जनाको निधनप्रति हामी शोक व्यक्त गर्दछौँ,” उपगृहमन्त्री म्यानुअल मोन्साल्वेले भन्नुभयो । “प्रारम्भिक रिपोर्टमा डढेलोमा परी कम्तीमा ९७९ जना घाइते भएका जानकारी प्राप्त भएको छ,” उहाँले बताउनुभयो ।

मोन्साल्वेका अनुसार शनिबार पनि २३२ स्थानमा डढेलो सक्रिय रहेको थियो । जसमध्ये १६ स्थानको डढेलो अझै निभाउन सकिएको छैन ।

राष्ट्रपति गेब्रियल बोरिकको सरकारले अरौकानियाको दक्षिणी क्षेत्रलाई समावेश गरी ‘सङ्कटकालीन अवस्था’ को विस्तार गरेको छ । नुबल र बायोबियोका क्षेत्रहरूलाई प्राकृतिक विपद् क्षेत्रका रूपमा हेर्ने गरिएको छ । ‘ मृतकहरूको संख्या बढ्दै गइरहेको यस अवस्थामा सङ्कटकालीन अवस्था’ को विस्तारले बोरिकलाई आगोसँग जुध्न सेना परिचालनका लागि मार्गप्रशस्त भएको छ ।

डढेलो क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस ९१०४ डिग्री फरेनहाइट० सम्म पुगेको कारण डढेलो नियन्त्रणगर्ने प्रयासमा बाधा पुगेको अधिकारीहरूले बताएका छन् । राजधानी सान्टियागोबाट ५१० किलोमिटर दक्षिणमा रहेको कन्सेपियन शहरमा जानका लागि बिदा स्थगन गरेका बोरिकले ट्वीट गर्दै जंगलमा लागेको डढेलोसँग जुध्न र परिवारलाई सहयोग गर्न आफू निरन्तर लागिरहने बताएका छन् ।

बोरिकका अनुसार अर्जेन्टिनाले अग्निनियन्त्रक र उपकरण पठाउने प्रस्ताव गरेको छ । ब्राजिल, उरुग्वे, मेक्सिको र स्पेनले पनि सहयोगको प्रस्ताव गरेको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिनुभयो । “जलवायु परिवर्तनको विकासक्रमका कारण हामी डढेलोको जोखिममा रहेका देशहरूमध्ये एक बनिरहेका छौँ,” उहाँले भन्नुभयो ।

तीन वर्ष अघिसम्म चरम जस्तो देखिने डढेलोको अवस्था अहिले दिनप्रतिदिन सामान्य हुँदै गएको उहाँले बताउनुभयो । तीमध्ये १० जनाको मृत्यु कन्सेप्सियन प्रान्तको सान्टा जुआना शहरमा भएको अधिकारीहरूले यसअघि बताएका थिए । डढेलोका कारण कम्तीमा ८८ घर जलेर नष्ट हुनुका साथै ४७ हजार हेक्टर वन क्षेत्र जलेको अधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया