वित्तीय क्षेत्रका अभिभावक गुमायौं पूर्वगभर्नरहरु

  माघ २२, २०७९

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । नेपालको वित्तीय क्षेत्रको जग बसाल्ने अभिभावकका रुपमा रहनुभएका जबराले केन्द्रीय बैंकको नेतृत्व गरेपछि नेपालबाट भारतीय मुद्रा हटाएर नेपाली मुद्रा प्रचलनमा ल्याउन मुख्य भूमिका खेल्नुभएको थियो । नेपालको वित्तीय र मौद्रिक क्षेत्रको उन्नयनमा नेतृत्वदायी भूमिका खेल्नुभएका दिवङ्गत जबराको योगदानबारे नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरुसँग राससकर्मी हेमन्त जोशीले लिएको प्रतिक्रिया स्

‘प्रतिकूल अवस्थामा अनुकरणीय काम गर्नुहुने व्यक्ति’
–डा तिलक रावल, पूर्व गभर्नर

जुनबेला उहाँ राष्ट्र बैंकको गभर्नर हुनुभयो, त्यो बेला नेपालको वित्तीय क्षेत्र नाजुक थियो । नेपालको आफ्नो मुद्रा धेरै चलनचल्तीमा थिएन । भारतीय मुद्रा नै बढी प्रचलनमा थियो । निकै कठिन स्थिति थियो । त्यस्तो प्रतिकूल अवस्थामा पनि उहाँले निकै अनुकरणीय काम गर्नुभयो र त्यसलाई सफलरुपमा अघि बढाउन सक्नुभयो ।

वित्तीय क्षेत्रमा उहाँले राष्ट्र बैंकको प्रथम गभर्नरका रुपमा काम गर्नुभयो । उहाँ हामीलाई सधैँ प्रोत्साहन गर्ने र राम्रो सल्लाह दिने व्यक्ति हुनुहुन्थ्यो । वित्तीय क्षेत्रमा पनि उहाँ निकै सक्रिय रहनुभयो । निजी क्षेत्रका बैंक अहिले हामीले जुन अवस्थामा देखिरहेका छौँ, ती संस्था ल्याउनमा पनि उहाँको ठूलो योगदान छ । नेपाल राष्ट्र बैंकको गभर्नरका रुपमा काम गरिसकेपछि उहाँ संयुक्त राष्ट्र सङ्घको कार्यक्रममा पनि जानुभयो । लामो समयसम्म बाहिरै बस्नुभयो । त्यहाँ पनि उहाँले आफ्नो राम्रो कामबाट इज्जत, प्रतिष्ठा कायम गर्नुभयो ।

उहाँबाट हामीले धेरै कुरा सिक्ने अवसर पायौँ । उहाँलाई कुनै ठूलो रोग लागेर लामो समय थलिएको सुन्नु परेन । उहाँ खेलकुदमा पनि सौखिन हुनुहुन्थ्यो । गल्फ खेल्नुहुन्थ्यो । आफूलाई सधैँ स्वस्थ राख्नुभयो उहाँले । उहाँले आफ्नो जीवनकाल निकै सक्रियरुपमा बिताउनुभयो ।

तपाईको प्रतिक्रिया