काठमाडौं, वैशाख १६ : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई नेताबीच दिउँसो १ बजेपछि भेटवार्ता सुरु भएको बालुवाटार स्रोतले बताएको छ ।
नेकपाभित्र प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन दबाब दिइरहेका र प्रधानमन्त्री ओलीले यसलाई आलटाल गर्दै आएका बेला दुई नेताबीच भएको वार्तालाई चासोका साथ हेरिएको छ। यद्यपि सोमबार ओली र नेपाल समूहका नेताहरुको वार्तामा मंगलबार सचिवालय बैठक बोलाउने अनौपचारिक समझदारी भएको थियो। तर, मंगलबार दिउँसोसम्म बैठक अनिश्चित छ। ओली-प्रचण्ड बैठकपछि सचिवालय बैठक बस्ने सम्भावना छ।
नेकपाका प्रचण्ड र नेपाल समूहका २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गर्दै यसअघि नै अध्यक्षद्वयलाई लिखित पत्र बुझाएका छन्। तर, पार्टीभित्रको पछिल्लो शक्तिसन्तुलन र शक्ति बाँडफाँडलाई लिएर देखिएका विवादले ओली समूह स्थायी कमिटीको बैठक बोलाउन अझै तयार भएको छैन ।
नेकपामा मंगलबार सचिवालय बैठक बस्ने भनिएपनि अहिलेसम्म बस्ने नबस्ने अन्यौल कायमै छ । अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु बैठक बोलाउने पक्षमा छन् तर प्रधानमन्त्री ओलीले बैठक टार्न खोजेको नेताहरुको आरोप छ । यस्तै स्थायी कमिटीका २० नेताले लिखित रुपमा नै स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।
स्थायी कमिटीको बैठकमा सरकार र पार्टी कामको समीक्षासहित नेतृत्व हेरफेरको मुद्दा उठान हुने गरि नेकपाभित्र राजनीतिक घटनाक्रम विकसित हुँदै आएका छन् । यसले नेकपाको आगामी बैठक पेचिलो हुने सम्भावना छ । चैत्र ८ मा जारी भएका दुई अध्यादेशपछि नेकपा विवाद नयाँ मोडमा आएको थियो । यद्यपि विवादपछि दुवै अध्यादेश फिर्ता भइसकेका छन् ।