बालीघरे प्रथाको मारमा दलित समुदाय

  माघ १८, २०७९

गाउँघरमा बालीघरे प्रथामा काम गर्दै आएका व्यक्तिले श्रमअनुसारको ज्याला पाउन नसकेको गुनासो गर्दै आएका छन् । यस प्रथामा काम गर्दा श्रमको उचित मूल्य नपाउँदा जीविकोपार्जनमा समस्या भएको उनीहरूको भनाइ छ । बालीघरे प्रथामा काम गर्दा धेरै दलित समुदायका व्यक्ति ठगिँदै आएका छन् ।

गरिबीको कारण दलित समुदायका व्यक्ति बालीघरे प्रथामा काम गर्न बाध्य भएका हुन् । भोजपुरका ४० प्रतिशत बढी दलित बालीघरे प्रथामा काम गर्न बाध्य रहेको नगरस्तरीय दलित सञ्जाल समितिका अध्यक्ष दुर्गा रणपंहेलीले बताउनुभयो । जिल्लाभरि नै यो प्रथाको अन्त्यका लागि अभियानमार्फत सचेतनाका कार्यक्रम चलाए पनि उनीहरूमा बालीघरेमा काम गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

“हाम्रो जिल्लामा अझै पनि बालीघरे प्रथा छ”, अध्यक्ष रणपंहेलीले भन्नुभयो, “यसरी काम गर्ने दलित ठगिएको अवस्था छ । उनीहरूले श्रमअनुसारको ज्याला पाउँदैनन् । दश पाथी अन्न, चाडबाडमा एक–दुई माना चामल पाएको भरमा वर्षभरि काम गरिरहेका छन् । यसरी काम नगरभन्दा मान्ने अवस्था छैन ।” उनीहरूलाई राज्यले विकल्प नदिएसम्म यो प्रथा अन्त्य नहुने उहाँको भनाइ छ ।

यसमा आवद्धलाई अन्न लिनुको साटो पैसा लिएर काम गर्नुभन्दा समेत नमान्ने अवस्था रहेको रणपंहेलीले बताउनुभयो । “सामाजिक सचेतनाका काम भइरहेका छन् । तर यहाँ अझै पनि बालीघरे प्रथा हट्न सकेको छैन”, उहाँले भन्नुभयो । सामाजिक सुधारका लागि राज्यले अझ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

बालीघरे प्रथा भन्नाले वर्षभर काम गरेको ज्यालाको रूपमा अन्न लिने प्रथालाई बुझिन्छ । सहरी तथा शिक्षित समाजमा यस खालको प्रथाको अन्त्य भए पनि यहाँका ग्रामीण क्षेत्रमा अझै यो चलन छ । युवापुस्ताले यस्ता खालको काम नगरे पनि पुरानो पुस्तामा अहिले पनि यसरी काम गर्ने चलन छ ।

केही रकम तथा अन्न लिएर फलामका सामग्री बनाउने र कपडा सिलाउने चलन छ । कपडा सिलाउने काम गरेवापत वर्ष दिनको प्रतिघर १० पाथीदेखि एक मुरी अन्न, चाडपर्वमा भाग भनेर फलाम पिट्नेले दशैँमा खसीको गर्धन र कपडा सिलाउनेलाई पुच्छर तथा साउने, माघे सङ्क्रान्तिलगायत चाडमा चामल, नुन, सेलरोटी दिने चलन अझै कायम छ ।

टेम्केमैयुङ गाउँपालिका–९ का हर्कबहादुर विकका वर्षौँदेखिको दिनचर्या यसरी नै बितिरहेको बताउनुभयो । गाउँमा फलाम पिट्ने काम न्यूनतम ज्यालाको रूपमा बाली लिएर काम गर्ने बाध्यता रहेको उहाँको भनाइ छ । यो काम छाडे जीवनयापन गर्न झनै समस्या हुने विकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया