प्रधानमन्त्री दाहालसँग अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको भेट

  माघ १६, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास गरिएको छ ।

अमेरिकी उपविदेश मन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार यहाँ आउनुभएको हो । भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिकाले पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप वृद्धि हँुदै जाने अपेक्षा गर्नुभयो । सो अवसरमा उपविदेश मन्त्री नुल्यान्डले प्रधानमन्त्री दाहाललाई नयाँ कार्यकालका लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।

उपविदेश मन्त्री नुल्यान्डले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुने यहाँस्थित अमेरिकी राजदूताबासले जनाएको छ । साथै उहाँले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सगाल्नु हुनेछ ।

उहाँले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिनुभएको हो । त्यसअघि उहाँ वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
उपविदेश मन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैर–आवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा वृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसक्नुभएको छ ।

तेत्तीस वर्षयता अमेरिकी कूटनीतिज्ञ रहनुभएकी उहाँ अमेरिकी राष्ट्रपति ओबामा र विदेश मन्त्री केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेश मन्त्रीका रूपमा सेवारत हुनुहुन्थ्यो । उहाँ अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता हुनुहुन्थ्यो भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत हुनुहुन्थ्यो ।

 

तपाईको प्रतिक्रिया