प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङ दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशी एवम् उनका परिवारविरुद्ध रकम अपचलन र ठगी कसूरमा मुद्दा चलाउने वा असुल उपरको प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।
सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले आर्थिक वर्ष २०७७र७८ को लेखापरीक्षण गर्नेक्रममा जोशी र उनको परिवारको नाममा कायम देखिएको रू आठ करोड ४६ लाख ८९ हजार ६७८ थैलो कायम गरी रकम अपचलन र ठगी कसूरमा मुद्दा चलाउन वा असुल उपरको प्रक्रिया अपनाउन सञ्चालक समितिलाई निर्देशन दिएको हो ।
कार्यालयले सञ्चालक समितिका सबै सदस्यहरुले साविकमा भएको हिनामिना तथा बेरुजु असुल उपरका लागि कारबाही, स्थानीय पालिका र प्रशासनसँगको पहलमा पुरानो नउठेको ऋण असुल उपर वा मालपोत कार्यालयमा रोक्का, हिनामिनाको रकम रोक्का राखेको जग्गा बेचबिखनमा लैजानेलगायतमन प्रक्रिया सुरु गर्न १६ बुँदे निर्देशन दिएको हो ।
कार्यालयका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले जारी गर्नुभएको निर्देशनमा ऋण लगानी सुरक्षित गर्न बिनाधितो ऋण असुल उपर वा धितो रोक्का राख्ने व्यवस्था गर्न, रोक्का राखेको धितोबाट असुल उपरको प्रक्रिया अघि बढाउन भनिएको छ । साथै आवश्यक परे हिनाहिनाको मस्यौदामा दोषी भएका उपर सम्बन्धित अदालतमा मुद्दा दायरसम्म गर्न, सम्बन्धित मालपोत कार्यालयलाई पत्राचार गरी धितो रोक्का वा सञ्चालक, कर्मचारीको जायजेथा रोक्कालगायतमन निर्देशन दिइएको छ ।
लेखा परीक्षणका क्रममा जोशी र उनका परिवारका नाममा देखिएको रू नौ करोड ११ लाख १७ हजार छ सय ७८ मध्ये सहकारी बैंकले धितो लिलाम गरेर रू ८० लाख असुल उपर गरेको थियो । यस्तै पछिल्लो हिसाबका क्रममा जोशी र उहाँको परिवारका नाममा थप रू १५ लाख ७२ हजार रकम भेटिएको सञ्चालक समितिले जनाएको छ ।
गत पुस २३ गतेदेखि पुस २९ गतेसम्म अनुगमन तथा छानबिन गरेको सहकारी कार्यालयले सहकारीको सबै ऋणीबाट हिनामिना तथा बेरुजु रकम असुल उपर गर्न सबै खालका कारबाहीका प्रक्रिया अपनाउन सुझाव दिएको छ ।






