विराटनगर । विराटनगरमा आयोजना हुने सीएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका ‘स्टल’ रहने भएका छन् ।
एक्स्पो यही माघ १९ गतेदेखि २८ गतेसम्म चल्ने र सो एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीका लागि मात्रै ७२ स्टल रहने जनाइएको छ । ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामान, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफूल र अचारका स्टल रहने छन् ।
हिमाली जिल्लाका जडिबुटी औषधि, छुर्पी, मह, चिज, अकबरे खोर्सानी लगायतका अर्गानिक कृषि उत्पादन पनि एक्स्पोमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङका अध्यक्ष चेतन निरौलाले बताउनुभयो । विशेष गरी महिला संलग्न भएर सुरु गरिएका लघु तथा घरेलु उद्योग, कृषिजन्य वस्तुका विशेष उत्पादनलाई एक्स्पोका माध्यमबाट बजारसम्म पु¥याउने र उहाँहरुलाई पनि खुल्ला बजारमा पहुँच स्थापित गर्ने उद्देश्यका साथ स्टलका लागि समन्वय गरिएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।
“यो एक्स्पोमा हामी पनि साझेदारका रुपमा रहेका छौँ, त्यही भएर अनेकौँ प्रकारका लघु तथा घरेलु, कृषि उद्यमको प्रवद्र्धनका लागि हामीले एक्स्पोमा विशेष स्थान पाएका छौँ ” उहाँले भन्नुभयो, “हरेक उद्यमीलाई ठूला उद्योगी सरह आफ्ना उत्पादनको प्रदर्शनी र बिक्री वितरण गर्ने अवसर मिलेको छ, यो हाम्रो लागि निकै ठूलो उपलब्धि ठानेका छौँ ।”
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले एक्स्पोको सहयोगी संस्थाका रुपमा रहेर आफ्नो क्षेत्रको व्यापार व्यवसायको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गरेको छ । महासङ्घकै कारण जुटबाट बनेका र अरु धेरै हस्तकलाका सामग्रीलाई ठूला व्यवसायीले जस्तै प्रदर्शन गरेर उपभोक्तासमक्ष पु¥याउन लागेको महासङ्घकी महिला उपसमितिकी अध्यक्ष सुनिता छाराहाङले बताउनुभयो ।






