अब निजी प्रयोगशालाले पनि कोभिड परीक्षण गर्न पाउने

  बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : मापदण्ड पुगेका निजी क्षेत्रका प्रयोगशालाले पनि कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्न पाउने छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको ‘गाइडलाइन फर दी इस्ट्याबलिसमेन्ट एण्ड अपरेशनलाइजेसन अफ मोलिक्युलर ल्याबोरेटोरिज फर कोभिड १९’ नामको निर्देशिका जारी गरेसँगै निजी प्रयोगशालाहरुले पनि कोरोना भाइरस परीक्षण गर्न पाउने भएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रयोगशाला सञ्चालन मापदण्ड पूरा गर्ने प्रयोगशालाले मन्त्रालयबाट छुट्टै अनुमति लिनुपर्ने बताउनुभयो । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले मुलुकभर १०६ जना आइसोलेसनमा रहेकामध्ये ८ जना राजधानी काठमाडौं र ९८ जना उपत्यका बाहिर रहेको बताउनुभयो । हालसम्म क्वारेन्टाइनमा २० हजार १ सय ९५ जना रहेका छन् ।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोना संक्रमितको संख्या ५२ रहेको छ। जसमा १६ जना निको भएका छन्। सोमबारसम्म नेपालमा आरडीटी विधिबाट ४३ हजार ६३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १० हजार ४ सय ७१ परीक्षणहरु भएका छन् । कुल दुवै विधिबाट ५३ हजार ५ सय ३४ वटा परीक्षणहरु भएका छन् ।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी १०६ जना रहेका छन् । काठमाडौँमा ८ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ९८ जना रहेका छन् । क्वारेन्टाइनमा २० हजार १ सय ९५ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया