बालुवाटारमा ओली–नेपाल छलफलपछि कोटेश्वरमा दुवै टोलीबीच वार्ता

  बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : सत्तारुढ नेकपाको अन्तरविरोध यतिबेला उत्कर्षमा देखिएको छ । अन्तरविरोध बढिरहेका बेला सोमबार दिउँसो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो संवाद भएको छ । अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री ओली र उनीनिकट नेताहरुले नेपाललाई फकाउन छलफल अगाडि बढाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र नेपालबीचको छुट्टाछुट्टै भेटवार्ता भएपछि दुवै समूहका दोस्रो तहका नेताहरुबीच छलफल सुरु भएको छ।छलफलमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली छन् । नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त सहभागी भएको स्रोतले बतायो ।

पार्टीभित्र र बाहिर पनि अप्ठ्यारोमा परेपछि ओलीले निकटका नेताहरुमार्फत् नेपाललाई फकाउने प्रयास गरेका हुन् । तर, नेपाल समूह भने ओलीबाट ठोस प्रस्ताव आउनुपर्ने अडानमा छन् । स्रोतका अनुसार आईतबार नेपाल निवास कोटेश्वरमा भएको सो समूहको बैठकमा पनि अधिकाशं नेताहरुले ओलीबाट ठोस प्रस्ताव आएमात्रै पुनर्विचार गर्न र उधारो प्रस्तावमा मात्रै अगाडि नबढ्न नेपाललाई सुझाव दिएका छन् ।

छलफलमा सहभागीमध्ये केही नेताहरुले भने अब ओलीसँग मिल्ने भन्दा पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुको विकल्प नरहेको धारणा राखेका थिए । त्यसअर्थमा सोमबार ओली–नेपाल र यो समूहका दोस्रो तहका नेताहरुबीचको छलफललाई अर्थपूर्णरुपमा हेरिएको छ ।

ओली निकट एक नेताका अनुसार नेपाल समूहको मागअुनसर प्रधानमन्त्री ओली तत्काल मन्त्रिमण्डल र सचिवालय पूर्नगठन र केही प्रदेशमा मुख्यमन्त्री हेरफेर गर्नसमेत लचिलो भएका छन् । आगामि पार्टी महाधिवेशनमा पार्टी अध्यक्ष नेपाललाई दिन पनि सहमत भएको उनले बताए । सोही प्रस्तावमाथि नेताहरुबीच छलफल भएको पनि उनले दावी गरे ।

नेपाल पक्षले भने ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष एक पद छाड्नु पर्ने अडान राखेको छ । यस्तै केन्द्रदेखि तल्लो तहसम्म प्याकेजमै सहमति खोजेको छ । त्यसकै सहमति जुटाउन दुवै समूहका नेताहरुबीच छलफल भइरहेको इकान्तिपुरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया