आत्मदाह प्रयासअघिको आत्मलाप :यो देशमा मैले गरिखान सकिनँ

  माघ १०, २०७९

काठमाडौँ,माघ १० : प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गरेर संसद भवनबाट बाहिरिँदै थिए। अगाडि-पछाडि सुरक्षाकर्मीको गाडीसहित संसद भवनको दक्षिण गेटबाट निस्किएर नयाँ बानेश्वर चोकमा प्रधानमन्त्री सवार सेतो गाडी आइपुगेको थियो। त्यही बेला कालो लुगा लगाएका एक युवक झोला भिरेर बानेश्वर चोकमा पुगे। बानेश्वर चोकमा प्रधानमन्त्री सवार गाडी आइनपुग्दै ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याए।

पेट्रोल खन्याउँदै शरीरमा आगो लगाएका उनी प्रधानमन्त्री प्रचण्ड सवार गाडीनजिकै पुगेर ढले। तर तत्कालै प्रधानमन्त्री सवार गाडीलाई सुरक्षाकर्मीको अर्को गाडीले छेकेर अघि बढायो।

शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्य गम्भीर घाइते भएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले उनलाई घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको बताएका छन्।

उनलाई प्रहरीले घटनास्थलबाट उठाएर तत्कालै कीर्तिपुस्थित बर्न अस्पताल पुर्‍याइसकेको छ। आचार्यले आत्मदाह प्रयास गर्नुको कारण नखुलेको मैनालीले बताए।

उनले आत्मदाहको प्रयास गर्नुअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेको पाइएको छ। स्टाटसमा उनले ३६ वर्ष पुगिसक्दा पनि केही उपलब्धि हासिल गर्न नसकेको, व्यवसाय गर्दा, उद्योग चलाउँदा समस्या भोग्नुपरेको उल्लेख गरेका छन्। जसका कारण आफूमा बाँच्ने आशा मरिसकेको हुँदा आफू आत्मदाह गर्न लागेको बताएका छन्।

उनले आफूलाई ६० लाख ऋण लागेको, टर्चर सहन नसकेर श्रीमतीले पनि आत्महत्याको प्रयास गरेको उल्लेख गरेका छन्। साथै उनले सरकारसँग आफ्ना विभिन्न मागसमेत राखेका छन्।

यस्ता छन् उनका माग

१. राष्ट्रिय उत्पादनमा VAT शून्य गर। आयातित बस्तुमा बरु २० प्रतिशत लगाऊ।
२. Buyers Pay First जस्तो आकर्षक बजार क्रय विक्रय नीति लागू गर। उधारो बजारको अन्त्य गर।
३. Higher the Profit – Lower the Tax Rate कर नीति लागू गर।
४. Land Leasing प्रणाली लागू गर।
५. Banking Mortgage Valuation प्रणाली परिवर्तन गर।
६. सबै बाहालका घरलाई करको दायारामा ल्याऊ।
७. ठूला औद्योगिक तथा व्यापारिक घरानाले नेपालको बजार कब्जा गरेका छन्, नियमन गर सरकार।
८. दर्ता नगरी खुलेका online पसलहरु सब बन्द गर।
९. वैदेशिक रोजगारमा official visa मा जान चाहनेलाई श्रम स्वीकृतिको लफडा नलगाऊ।
१०. अनुदान र subsidy प्रणालीको सबै पुरानो file निकाल।
११. बिचौलियाको अन्त्य गर।
१२. यहाँ अलैंची भारत बेचेर imported cardamom dust किनेर खान्छन् नेपाली उपभोक्ता, अदुवा बोरामा भारत बेचेर imported ginger paste किनेर खान्छन्, इलामको orthodox green tea, black tea बोरामा कलकत्ता बेचेर imported lipton चिया खान्छन्। यी सबै चिजहरु नेपाली ब्राण्डमै नेपाली बजारमा पाइयोस्। नेपाली ब्राण्डमै विश्वमा निर्यात होस्।
१३. गाजा खेतीले वैधानिकता पाओस्।
१४. शिक्षा, स्वस्थ, सार्वजनिक यातायातमा निजीकरण दुरुत्साहित गर।
१५. सरकारी कर्मचारी, शिक्षक आदिलाई घर पायक जागीर नभएमा अनिवार्य आवास सुविधा उपलब्ध गराऊ सरकार।
१६. सार्वजनिक खरिद ऐनमा व्यापक सुधार गर।
१७. भ्रष्टाचार, जघन्य हत्या र बलात्कार आदिमा मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था लागू गर।
१८. जातीय आरक्षणको अन्त्य गरी किसान र गरिबलाई पहिचान परिचयपत्रमार्फत मात्र त्यस्ता आरक्षण प्रदान गर सरकार।
१९. भारतसँगको खुल्ला सिमाना अन्त्य गर।
२०. आयात प्रतिस्थापन गरी सधैँ घरेलु उत्पादन र निर्यातलाई प्रोत्साहन गर।
२१. बचत तथा ऋण सहकारी तथा microfinance बन्द गर।
२२. विकास साझेदारीको नाममा फेरि पूर्वाधार विकास हुने ठाउँको उपभोक्ताबाट २५ प्रतिशत रकम उठाइने गरिएको छ, त्यो बन्द गर।
२३. कक्षा ६ देखि नै “उद्यमशिलता – entrepreneurship” विषयलाई विद्यालय शिक्षामा अनिवार्य गर।
२४. सरकारी कर्मचारी/शिक्षक/संस्थानका कर्मचारी/जनप्रतिनिधि/सांसद/मन्त्री/प्रधानमन्त्री सबैका छोराछोरी अनिवार्य सरकारी/सामुदायिक स्कुल/कलेजमा पढाउनुपर्ने नियम तत्काल लागू गर।
२५. बैंक ऋणको ब्याजदर ७ प्रतिशतभन्दा कहिले माथि नउठ्ने गरी सीमित गर।

तपाईको प्रतिक्रिया