विराटनगर, माघ १० : विराटनगरका विभित्र तीन रोटरी क्लबले विद्यालय भवन निर्माण गरेर सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् ।
तीनवटै विद्यालय रु एक करोड १६ लाख ५४ हजारमा निर्माण गरिएको हो । रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता तथा रोटरी ई क्लब अफ सेन्ट्रल टेक्टासको समन्वयमा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरिएको हो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भवनको चाबी विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई हस्तान्तरण गरियो ।
विराटनगर–६ स्थित जनचेतना आधारभूत विद्यालय, विराटनगर–२ स्थित विराट महेन्द्र रात्रि स्कुल र विराटनगर–५ स्थित आधारभूत विद्यालयको भवन महानगरका प्रमुख कोइरालाले उद्घाटन गर्नुभयो । रोटरी क्लब अफ विराटनगरका अध्यक्ष कविन श्रेष्ठको नेतृत्वमा विराटनगर–६ स्थित रामपुरको श्री जनचेतना आधारभूत विद्यालयको स्तरोन्नतिका लागि रु ५२ लाख ५५ हजार, रोटरी क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष रेखा राठीको नेतृत्वमा विराटनगर–२ कोचाखालस्थित विराट महेन्द्र रात्रि विद्यालयको स्तरोन्नतिका लागि रु ३३ लाख १९ हजार र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष नम्रता रिजालको नेतृत्वमा विराटनगर–२ स्थित श्री आधारभूत विद्यालयको स्तरोत्रतिका लागि रु ३० लाख ८० हजार खर्च गरिएको परियोजना कोर्डिनेटर कमल अग्रवालले जानकारी दिनुभयो ।
विराटनगर–६ रामपुरस्थित जनचेतना आधारभूत विद्यालयमा सोमबार आयोजित विद्यालयको चाबी हस्तान्तरण कार्यक्रममा प्रमुख कोइराला र रोटरी क्लब अफ विराटनगरका अध्यक्ष कविन श्रेष्ठलगायतका रोटरीयनहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृतकुमार साह हलुवाई र प्रधानाध्यापक जयन्ती दासलाई विद्यालयको चाबी हस्तान्तरण गर्नुभयो ।
त्यस्तै विराटनगर–२ को स्तरोत्रति भएको भवनको चाबी प्रमुख कोइराला र वडाध्यक्ष कुमार पोखरेलले हस्तान्तरण गर्नुभयो । सो अवसरमा जनचेतना आधारभूत विद्यालयका उत्कृष्ट विद्यार्थीलाई साइकलसमेत प्रदान गरिएको थियो । चाबी हस्तान्तरण कार्यक्रममा तीनवटै वडाका जनप्रतिनिधिको उपस्थिति थियो । तीनवटै विद्यालयको भवन निर्माण तीन वर्षअघि सुरु गरिएको थियो ।