जुम्ला, माघ ७ : जुम्लास्थित सडक डिभिजन कार्यालयमा दरबन्दीअनुसार प्राविधिक कर्मचारी नहुँदा काम गर्न सकस भएको छ । साविकको माथिल्लो कर्णालीका कालिकोट, मुगु र जुम्ला गरी तीन जिल्लालाई हेर्ने सो डिभिजन कार्यालयमा प्राविधिक कर्मचारी पर्याप्त नहुँदा योजना निगरानीदेखि बिल भुक्तानीसम्म कठिन हुने गरेको डिभिजन प्रमुख राजीव श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार कार्यालयमा १२ जना सब–इञ्जिनियरको दरबन्दी भए पनि तीन जना मात्र कार्यरत छन् । नौ जना सव–इञ्जिनियरको दरबन्दी पनि रिक्त छ ।
पाँच जना इञ्जिनियरको दरबन्दीमध्ये कार्यालयमा दुई जना मात्रै रहेको उहाँले जानकारी दिनुभयो । भौगोलिक विकटताका कारण कर्णालीमा इञ्जिनियर र सब-इञ्जिनियर आउन नमान्ने गरेको उहाँको भनाइ छ ।
पटक-पटक दरबन्दी अनुसारको जनशक्ति पठाउन माग गरे पनि जनशक्ति नआएको उहाँको भनाइ छ । जनशक्ति अभावले काम गर्ने निकै सकस हुने गरेको डिभिजन प्रमुख श्रेष्ठको भनाइ छ । अहिले कार्यालयले चार वटा कर्णाली राजमार्ग, नाग्म गमगडी सडक, मनाङ-मुस्ताङ जोड्ने सडकदेखि जुम्ला-डोल्पा सडकमा काम गरिरहेको छ ।
सीपमूलक तालिमबाट महिला आत्मनिर्भर बनाउँदै
जुम्लाको पातारासी गाउँपालिकाले पालिकाभित्रका महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने भएको छ । पालिकाले सामाजिक विकास कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयसँग सहकार्य र समन्वयमा वडा नं १ र २ का महिलाई तीन महिने सिलाइ कटाइ तालिम दिन सुरु गरेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।
पालिकाका बाँकी वडामा पनि ढाका बुनाइ, हाते होजीयारी सीपमूलक तालिम दिने र महिला केन्द्रित कार्यक्रम लागू गरिएको उपाध्यक्ष रोकायाले बताउनुभयो ।
“पालिकाका वडानं १ र २ का १५ जना महिलालाई उक्त तालिम दिएका छौँ । उहाँहरुले राम्रोसँग सीप सिकेर अरु महिलालाई सिकाउनुपर्छ”, उहाँले भन्नुभयो, “सीप सिकाउँदैमा जीवनस्तर उठ्दैन, सीपले निरन्तरता दिनुपर्छ ।”
उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालयको नियमित कार्यक्रमअन्तर्गत पातारासी गाउँपालिकाको साझेदारीमा तालिम सुरु गरेको कार्यालय प्रमख श्रीकृष्ण देवकोटाले बताउनुभयो ।






