बेदकोट, माघ ३ : माघ लागेसँगै कञ्चनपुरमा थारू समुदायमा धमाधम बरघर तथा भलमन्सा छनोट गर्न थालिएको छ । माघीको दोस्रो दिनदेखि नै थारू बस्तीका स्थानीय भेला भएर बरघर तथा भलमन्सा छान्नमा व्यस्त छन् ।
“माघीको पहिलो दिन नदी तलाउमा नुहाएपछि आशीर्वाद आदानप्रदानपछि अर्को दिनदेखि बरघर, भलमन्सा छान्ने गरिन्छ, अहिले हामी बरघर छान्नका लागि भेला भएर छलफल गरिरहेका छौँ,” बेदकोट नगरपालिका-५ का सुरज चौधरीले भन्नुभयो, “टोल-टोल, गाउँ-गाउँमा बरघर/भलमन्सा छान्ने गरिन्छ ।”
उहाँका अनुसार गाउँ बस्तीमा हुने सामाजिक कार्यदेखि अन्य गतिविधिको नेतृत्व गर्न बरघर छान्ने गरिन्छ । बरघररभलमन्साकै नेतृत्व र निर्णयका आधारमा गाउँमा हुने सामाजिक कार्यहरूमा सबैको सहभागिता हुने प्रचलन छ थारू समुदायमा छ ।
“माघी मनाएपछि बरघर छान्न सुरु भएको छ, यो प्रक्रिया एक हप्तासम्मै हुन्छ,” बेदकोट नगरपालिका-५ का प्रदीप डगौराले भन्नुभयो ।
थारू बस्तीमा माघी सकिएसँगै बरघररभलमन्सा छान्ने चटारो छ । बेदकोट नगरपालिका-७ स्थित मन्दिरपुरमा प्रेमबहादुर डगौरा दोस्रो पटक बरघर छानिनुभएको छ । यो टोलमा ६२ परिवार छन् । उनीहरुले प्रेमबहादुरलाई बरघर छानेका हुन् । माघी सकिएको एक हप्तासम्म थारू बस्तीमा बरघर तथा भलमन्सा छान्ने चटारो हुने गरेको प्रेमबहादुर डगौराले बताउनुभयो ।
“एक हप्तासम्म सबै गाउँटोलमा बरघर छनोट गरिसक्छन्,” उहाँले भन्नुभयो, “परापूर्वकालदेखि चल्दै आएको चलन हो, हामीले पनि त्यसै अनुसार बरघर चयन गर्छौं ।”
माघी पर्वलाई थारू समुदाय सबैभन्दा ठूलो चाडपर्वका रुपमा लिन्छन् । माघीलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउने गरेको थारू अगुवा धिरेन्द्र डगौराले बताउनुभयो ।
बेदकोट नगरपालिकाको लालपुरका डगौरा बरघर पनि चयन हुनुभएको छ । “समुदायमा बरघर छानेजस्तै घरपरिवारमा पनि मूली छानिन्छ,” उहाँले भन्नुभयो, “घरमा एक वर्षमा भएका कामको समीक्षासँगै आगामी कामको योजनासमेत बनाइन्छ ।”
यस्तै, थारू समुदायले घरमा पुरानै मूली बनाउने वा नयाँ मूली छान्ने भन्ने निक्र्यौल पनि माघीमै गर्छन् । माघी सकिएपछि वर्षभरिका कामको लेखाजोखासँगै टोल/गाउँमा बरघर छान्ने चलन थारू समुदायमा छ । रासस






