कञ्चनपुर,माघ १ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री रावलले आज शोक वक्तव्य जारी गर्दै जहाज दुर्घटनाको दुःखद खबरले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गर्नुभएको छ । उहाँले विमान दुर्घटनामा निधन भएका व्यक्तिका परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।
आइतबार करिब साढे १० बजे काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।
“घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै खोज, उद्धार तथा उपचारको यथोचित व्यवस्थापनका लागि अनुरोध गर्दछु”, जारी वक्तव्यमा भनिएको छ ।
चारजना चालक दलका सदस्य र ६८ यात्रु बोकेको जहाज दुर्घटनाग्रस्त भएको थियो । नागरिक उड्डयन प्राधिकरणले उक्त दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।