इरानविरूद्ध जासूसी गरेको आरोपमा बेलायती मूलका इरानी नागरिकलाई मृत्युदण्ड

  पुष ३०, २०७९

पेरिस, पुस ३० : बेलायतका लागि जासुसी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका बेलायती मूलका इरानी नागरिक अलिरेजा अकबरीलाई इरानले मृत्युदण्ड दिएको शनिबार जनाएको छ ।

इरानी जेलमा रहेका ६१ वर्षीय अकबरीलाई ‘भ्रष्टाचार गरेको र गुप्तचर सूचना दिएर देशको आन्तरिक तथा बाह्य सुरक्षामा क्षति पु¥याएको’ अभियोगमा फाँसी दिइएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले जनाएको छ । मृत्युदण्ड कहिले र कहाँ गरियो भन्ने बारे भने केही बताइएको छैन ।

मिजान अनलाइनका अनुसार दुई वर्षअघि पक्राउ परेका अकबरी बेलायतको एमआई–६ गुप्तचर निकायका लागि जासूस थिए र उनले आफ्नो सेवाका लागि करिब २० लाख अमेरिकी डलर प्राप्त गर्नुभएको छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मृत्युदण्डको घटनाले आफू स्तब्ध भएको बताउनुभएको छ । सुनकले ट्वीटरमा लेख्नुभएको छ, “यो एक निर्दयी र कायरतापूर्ण कार्य थियो । बर्बर शासनले आफ्नै जनताको मानव अधिकारको सम्मान गर्दैन ।”

बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले ट्वीटरमा उहाँको मृत्युदण्डलाई ‘चुनौती नदिइरहन असम्भव’ भएको चेतावनी दिनुभएको छ । फ्रान्सले पनि एक विज्ञप्ति जारी गर्दै मृत्युदण्डको कडा शब्दमा निन्दा गरेको छ ।

यस घटनालाई लिएर बेलायतले तेहरानका राजदूतलाई स्पष्टिकरणका लागि बोलाएको छ भने इरानले बेलायतस्थित आफ्नो राजदूतलाई घटनाबारे स्पष्टिकरण लिनुलाई ‘अपरम्परागत हस्तक्षेप’ को संज्ञा दिएको थियो ।

संयुक्त राज्य अमेरिकाले इरानलाई फाँसी नदिन आग्रह गर्दै आफ्नो सहयोगी बेलायतसँग सहकार्य गर्ने बताएको केही घण्टापछि मात्र अकबरीलाई फाँसी दिइएको थियो ।

अमेरिकी कूटनीतिज्ञ वेदान्ंत पटेलले अकबरीलाई ’हिरासतमा रहँदा नशालु पदार्थ सेवन गराइएको, यातना दिइएको, हजारौं घण्टा सोधपुछ गरिएको र झूटो स्वीकारोक्ति गर्न बाध्य पारिएको’ भन्ने समाचारबाट वासिङ्टन ‘निकै चिन्तित’ भएको बताउनुभएको छ ।

एमनेस्टी इन्टरनेसनलले मृत्युदण्डलाई ’घृणित’ भनेको छ । अकबरीलाई जबर्जस्ती रासायनिक पदार्थ खुवाइएको र लामो समयसम्म एकान्तवासमा राखिएको जस्ता ‘यातना र अन्य दुव्र्यवहार’ को सामना गर्नुपरेको ट्वीटमा उल्लेख छ ।

आफ्ना नागरिकका लागि दोहोरो नागरिकतालाई मान्यता नदिने इरानका सञ्चारमाध्यमले यसै साता एक भिडियो प्रसारण गरेका थिए जसमा अकबरीले बेलायतसँगको आफ्नो सम्पर्कबारे बोल्नुभएको थियो ।

बीबीसी फारसीले बुधबार अकबरीको एउटा अडियो सन्देश प्रसारण गरेको थियो जसमा उहाँले आफूलाई यातना दिइएको र आफूले नगरेका अपराधहरू क्यामेरामा स्वीकार गर्न बाध्य पारिएको बताउनुभएको थियो ।

’मलाई नयाँ लुगा दिइयो र मेरो कपाल रङ लगाउन लगाइयो तर त्यसपछि मलाई फिल्म स्टुडियोमा लगियो र झूटो स्वीकार गर्न बन्दुकको धम्की दिइयो,’ रेकर्डिङमा अकबरी भएको विश्वास गरिएका एक व्यक्तिले भन्नुभएको छ ।

मिजान अनलाइनले गुप्तचर मन्त्रालयलाई उद्धृत गर्दै अकबरी ’आफ्नो पदको महत्व’ का कारण बेलायतको एमआई ६ का लागि ’प्रमुख जासूस’ बनेको बताएको छ ।

सन् १९८०–८८ को इरान–इराक युद्धका अनुभवी अकबरीलाई सन् २०१९ को मार्चदेखि सन् २०२० को मार्चको बीचमा पक्राउ गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया