म्याग्दे गाउँपालिका बालश्रम मुक्त घोषणा

  पुष ३०, २०७९

तनहुँ, पुस ३० : तनहुँको एक पालिकालाई जिल्लामै पहिलो बालश्रम मुक्त घोषण गरिएको छ । तनहुँको म्याग्दे गाउँपालिका बालश्रम मुक्त घोषणा भएको हो ।

नेपाल सरकारको बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) अनुसार विसं २०७९ सालसम्म निकृष्ट शोषणयुक्त बालश्रम तथा विसं २०८५ सम्म सबै प्रकारका बालश्रम अन्त्य गर्ने अभियानअन्तर्गत पालिका बालश्रम मुक्त घोषणा भएको जनाएको छ ।

बालश्रममुक्त गाउँपालिका बनाउनका लागि स्थलगत सर्वे, बालश्रमको तथ्याङ्क सङ्कलन तथा सम्भावित जोखिममा रहेका बालबालिकाको पहिचानसहित विभिन्न प्रकारका चेतनामूलक अभियान सञ्चालन गरी जिल्लाकै पहिलो बालश्रम मुक्त बनाउन सफलता मिलेको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिवद्धता जनाएर बालश्रममुक्त पालिका घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।

‘‘पालिकाभित्र कुनै प्रकारको बालश्रमिक छैनन् । जोखिममा रहेका बालबालिकाको पहिचान भइसकेको छ,’’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो ।

नेपालको संविधानको धारा ३९(४) मा कुनै पनि बालबालिकालाई कलकारखा, खानी तथा अन्य जोखिम काममा लगाउन नपाइने व्यवस्था गरिएको अभियान सञ्चालन गरिएको अधिकारीले जानकारी दिनुभयो ।

अभियानको क्रममा निरन्तर अनुगमन, बालश्रममा पर्न सक्ने जोखिममा रहेका बालबालिकाको उद्धार, पुनस्र्थापना तथा पुर्नमिलन कार्यक्रमहरु गरिएको उहाँले जानकारी दिनुभयो । बालबालिका विभिन्न उद्योग, कलकारखाना, होटेललगायत निर्माण कार्यमा अझै पनि श्रमिकको रुपमा राख्ने गरेको पाएकाले अन्त्य गर्न बाल श्रममुक्त बनाउने अभियान गरेर बालश्रम मुक्त बनाइएको पालिकाले जनाएको छ ।

पालिकाका अनुसार एकीकृत हरित विकास नेपाल अभियानलाई सहयोग गरेको थियो । पूरै पालिका श्रममुक्त बनाउनका लागि उद्योगहरुको पटक पटक अनुगमन गरी बालश्रम मुक्त बनाइको एकीकृत हरित विकास नेपालका अध्यक्ष कमलहरी जिसीले जानकारी दिनुभयो ।

घर–घरमा पुगेर घरायसी कामदार समेत हटाउने काम सम्पन्न गरिएको जिसीले जानकारी दिनुभयो । एकीकृत हरित विकास नेपालका कार्यक्रम अधिकृत सुदिप सेडाईले एकीकृत हरित विकास संस्थाले गरेको अनुगमन तथा निरीक्षणवाट पालिकालाई बलश्रम मुक्त अभियान घोषणा गरिएको ब्ताउनुभयो । घोषणाको ७ सूचक पालिका भरका पाँच हजार ३ २९ घरधुरीमा संस्थाले वडाभरको टोल तथा क्षेत्रमा गएर वालवालिकाको अवस्थाबारे अध्यनन तथा अनुसन्धान गरेर पालिकालाई पूर्ण बालश्रममुक्त अभियान घोषणा गरेकोगाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।

सो अवसरमा श्रेष्ठले नेपालको सन्र्दभमा बालश्रम एउटा ठूलो चुनौती भएको बताउनुभयो । सरकारले नै बालश्रम मुक्त घोषणा संवैधानिक व्यवस्थामा नै गरेता पनि यसको व्यवहारिक कार्यन्वयन नहुँदा अझै पनि देशमा अनाथ, असहाय, गरिब बालबालिका बाँच्नका लागी पूर्ण रुपमा श्रममा निर्भर हुनु अत्यन्त दुःखको विषय भएको बताउनुभयो । त्यस्तै, कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरेले अनाथ, असाह्य र गरिबीको रेखामा रहेको बालबालिकाको अभिभावकत्व प्रदान गर्नु आम म्याग्देवासीको जिम्मेवारी भएको बताउनुभयो ।

पालिका बालबालिकाको वृद्धि विकास, चेतनाको विकास, शिक्षा, स्वास्थ्य र रोजगारको सवालमा प्रष्ट रहेको र अगामी दिनमा बाल श्रममुक्त बालबालिकाको अवस्थामा ध्यान दिनुपर्ने उपाध्यक्ष घिमिरेले बताउनुभयो । भोलिको सभ्य र सुन्दर समाज निर्माणमा आजको बालबालिकाको काँधमा ठूलो जिम्मेवारी रहेको हुन्छ हुँदा बालबालिकाको संरक्षण, हित र उत्थानका लागि पालिकाले अभिभावकीय भूमिका बहन गर्ने पर्ने वक्ताका जोड छ ।

तपाईको प्रतिक्रिया