मान्म, पुस २३ : कालीकोटको नरहरिनाथ गाउँपालिकाका पाँच सय ६३ घरमा सिकाइ कक्षा सञ्चालन गरिएको छ । शिक्षाको पहुँचमा सुधार ल्याउने उद्देश्यले बालबालिकालाई घरघरमा सिकाइ कक्षा सञ्चालन गरिएको हो ।
गाउँपालिकाका नौवटै वडाका घरघरमा बालबालिकालाई सिकाइ कक्षा सञ्चालनमा ल्याइएको हो । शिक्षाको गुणस्तर बढाउन बालबालिकालाई घरमा नै शिक्षा सिकाउनका लागि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ र विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ लाई समर्थन गर्दै गाउँपालिकामा घरघरमा सिकाइ कक्षा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताउनुभयो ।
“सहयोगी साझेदार संस्था प्लान नेपालको सहयोगमा अहिले गाउँपालिकाका नौवटै वटामा सिकाइ कक्षा सञ्चालनमा छन्”, उहाँले भन्नुभयो, “विद्यालय सञ्चालन नभएको समयमा बालबालिकाले घरमै पढ्न पाउने भएको छन् ।”
प्लान नेपालको सहयोग र किर्डाक नेपालद्वारा नरहरिनाथ गाउँपालिका १२ विद्यालयमा ३६ वटा सिकाइ केन्द्र सञ्चालनमा रहेको पढाइ लेखाइ सीप सुधार परियोजना कार्यक्रमका प्रतिनिधि ईशरा बुढाले बताउनुभयो ।
“प्रत्येक वडामा सहजीकरणका लागि चार जना प्रतिनिधि राखेका छौँ”, उहाँले भन्नुभयो, “बिहान बेलुकी सबै कक्षामा सिकाउने गरेका छन् ।”
घर–घरमा सिकाइ कक्षाले शिक्षा पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म पु¥याउने काम गरेको नरहरिनाथ–३ कुमालगाउँका स्थानीय जयमति महताराले बताउनुभयो ।
“अशिक्षा र अज्ञानताका कारण हाम्रो समाज पछि परेको र हामीले विद्यालय गएर पढ्न नपाए पनि नानीबाबुहरुले पढ्न पाउने भएका छन्”, उहाँले भन्नुभयो, “घरघरमा सिकाइ कक्षा स्थापना गरेका कारण विद्यालयभन्दा बाहिर रहेका बालबालिकाले पढ्न पाएका छन् ।”