फुङ्लिङ,पुस २३ : अलैँची व्यवसायी सङ्घ ताप्लेजुङको अध्यक्षमा भद्रवीर रेग्मी चयन हुनुभएको छ । आज सम्पन्न अधिवेशनले रेग्मीको अध्यक्षतामा ११ जनाको कार्यसमिति गठन गरेको हो ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा राजमणि मिश्र, द्वितीय उपाध्यक्षमा तेजबहादुर भट्टराई र तृतीय उपाध्यक्षमा शङ्कर बस्नेतलाई चयन गरेको छ । साथै, सचिवमा खेम केसी, कोषाध्यक्षमा राम बराललाई चयन गरेको निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य बालमणि बरालले जानकारी दिनुभयो ।
ताप्लेजुङमा उत्पादित अलैँची प्रशोधन र भण्डारणका लागि गोदाम व्यवस्थापन गर्न आवश्यक रहेको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले बताउनुभयो । त्यसका लागि नगरपालिकासँग सहकार्य गर्न उहाँले आग्रह गर्नुभयो ।
विसं २०६५ मा स्थापना भएको अलैँची व्यवसायी सङ्घले गाउँगाउँसम्म पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै हातमा पञ्जा लगाएर मात्रै काम गर्नुपर्ने, अलैँचीको बजार मूल्यका विषयमा जानकारी गराउनेजस्ता काम गरेको निर्वतमान अध्यक्ष बरालले बताउनुभयो ।
जिल्लामा चार हजार दुई सय दुई सय ५८ हेक्टर क्षेत्रफलमा नियमित अलैँची उत्पादन भइरहेका कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँचीखेती हुँदै आएको छ ।