धादिङ, वैशाख १२ : धादिङको नेत्रवती डब्जोङ गाउँपालिकाका ३२ वर्षीय उरबहादुर तामाङ कोरना भाइरस लाग्नबाट बच्न चेतना जरुरी हुने र लागिहाल्यो भने पनि आत्मबल कमजोर बनाउन नहुने बताउनुहुन्छ । उहाँ नेपालको तेस्रो कोरोना सङ्क्रमित हुनुहुन्थ्यो ।
काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातालमा उपचारपछि निको भई घर फर्किनु भएका तामाङले कोरोना रोग लागि हाल्यो भने आत्म विश्वास कमजोर नबनाइ उपचार गरेमा निको हुने बताउनु भयो । उहाँले भन्नुभयो, आफूलाई कोरोना भएको प्रमाणित भएपछि खानपिन र उपचार प्रक्रियामा अत्यन्त सजग भएर बसे । उपचारका क्रममा चिकित्सकले थपेको उत्साहले थप हौसला मिलेको उहाँ बताउनुहुन्छ ।
चिकित्सकहरुको सल्लाहअनुसार विरामीले औषधी र सन्तुलित आहारा खानुपर्ने तामाङको अनुभव छ । आफू गाउँ फर्केपछि कोरोनासम्बन्धी चेतना प्रवाहमा लागि पर्ने उहाँको भनाइ छ ।
तामाङ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक महिनाको उपचारपछि कोरोना निको भई धादिङ फर्कनु भएको हो । तामाङ गत चैत्र १० गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्नुभएको थियो ।
उहाँलाई जिल्ला स्वास्थ्य कार्यालय धादिङले निर्माण गरेको रिकभरी सेन्टरमा एक हप्ता राखी पुनः गाउँ पठाइने धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो । दुवईबाट नेपाल आउनु भएको उहाँलाई सामान्य रुघाखोकी र ज्वरो आएपछि कोरोनाको आशङ्कामा टेकु अस्पतालमा जाँच गराइएको थियो ।