भक्तपुर,पुस २१ : चाँगुनारायण नगरपालिकाले मुहानपोखरी–चरेली–खावा सडकखण्डलाई ‘सुरेन्द्रप्रताप शाह स्मृति मार्ग’ नामकरण गरेको छ । चाँगुनारायण नगरपालिका–६ र ७ ले आज संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले उक्त सडकको उद्घाटन गर्नुभयो ।
नगरप्रमुख खत्रीले भक्तपुरका पूर्व जिल्ला सभापति एवं समाजसेवी स्व शाहको योगदानको कदर गर्दै नगर कार्यपालिका बैठकले सर्वसम्मतरूपमा सडकको नामकरण गर्ने निर्णय गरेको बताउनुभयो । “समाजको हितका लागि लागिपर्ने जुनसुकै व्यक्तिलाई पनि हामी सम्मान गर्न पछि हटदैनौँ”, उहाँले भन्नुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदीले स्व शाहसँग साविक जिविसमा सहकार्य गरेको स्मरण गर्दै उहाँ विकासप्रेमी, समाजप्रेमी र सामाजिक अभियन्ता रहेको बताउनुभयो ।
कार्यक्रममा स्व शाहका छोरा एवं राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सहमहामन्त्री रवीन्द्रप्रताप शाह, चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामा, नेपाल मजदुर किसान पार्टीका अर्जुन काफ्लेलगायतले विकासमा दलगत दृष्टिकोण नराखी एक भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।