काठमाडौं, वैशाख १२ : नेपाली काँग्रेसले सरकार चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन बाध्य भएको जनाएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत अध्यादेशको विविध रुपमा स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा, विद्यार्थी, पार्टीका नेताकार्यकर्ता, अन्य दल तथा सञ्चारमाध्यमलाई बधाई ज्ञापन गर्नुभएको छ ।
यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान हुनुपर्ने र यसमा जो कोहीको संलग्नता रहेपनि इमान्दारीपूर्वक कानुनी कारबाही गर्ने कांग्रेसले विज्ञप्तिमार्फत अपिल गरेको छ।
प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन ।’
कांग्रेसले यस प्रकरणमा हस्तक्षेपमुक्त अनुसन्धान र जो–कोहीको संलग्नता रहे पनि कानुनी कारबाही गर्न माग गरेको छ । पार्टीले निरन्तर सतर्कता र एकताका लागि सबैमा अपिलसमेत गरेको छ । चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन सरकार बाध्य बनेको र यो घटनाले सरकारको नियत प्रष्ट भएको विज्ञप्तिमा उल्लेख छ ।






