कर्णाली, पुस १७ : जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले लागूऔषध रोकथामको विशेष कार्ययोजना बनाउन थालिएको बताउनुभएको छ । सुर्खेत प्रहरीको प्रमुख भएर आउनुभएका प्रहरी उपरीक्षक थापाले आज पत्रकारहरूसँगको भेटघाटमा लागूऔषधको नियन्त्रण तथा न्यूनीकरण पहिलो सर्त रहेको बताउनुभयो ।
सुर्खेत कर्णाली प्रदेशको राजधानी भएकाले यसलाई सुरक्षित सहर बनाउने आफ्नो प्रयत्न गरिने उहाँले बताउनुभयो । “सुर्खेत कर्णाली प्रदेशको मुटु भएकाले तपाइँ पत्रकारहरुको पृष्ठपोषण र सुझाव लिएर अपराध नियन्त्रण र शान्तिसुरक्षाका काम अगाडि बढाउँछु,” प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “पछिल्लो समयमा लागूऔषध समाजमा सबैभन्दा ठूलो चुनौती बन्दै गएकाले सुर्खेतलाई सुरक्षित सहर बनाउनमा जोड दिने योजनामा लाग्छौँ ।”
सुर्खेतलाई सुन्दर, शान्त र सभ्य सहर बनाउन नागरिक, समुदाय, स्थानीय तथा प्रदेश सरकारलगायत सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
लागूऔषध ओसारपसार, चोरीनिकासी, झगडा, घरेलु हिंसा, सामाजिक अपराध, कालोबजारी जस्ता कानुन विपरित घटना नियन्त्रण गर्न पत्रकार र प्रहरीको विशेष भूमिका रहने प्रहरी उपरीक्षक थापाको भनाइ थियो ।






