जकार्ता, पुस १५ : इन्डोनेसिया सरकारले कोभिड–१९ नियन्त्रणका निम्ति लागू गरिएका सबै प्रतिबन्ध हटाएको छ । राष्ट्रपति जोको विडोडोले कोभिडसम्बन्धी सार्वजनिक गतिविधिमा लागेको राष्ट्रव्यापी प्रतिबन्ध हटाउने निर्णय भएको घोषणा गर्नुभएको छ ।
दश महिनाभन्दा बढीको छलफल, सार्वजनिकस्थलको आवागमनलगायत पक्षलाई विश्लेषणका साथै कोरोना सङ्क्रमणको पछिल्लो तथ्याङ्कका आधारमा प्रतिबन्ध हटाउने निर्णय भएको राष्ट्रपति विडोडोले बताउनुभयो । जमघट र भेलामा प्रतिबन्ध हटाइएको भए पनि सबैलाई सतर्क रहन आग्रह गर्नुभयो ।
“म राष्ट्रका सबै क्षेत्रलाई सावधान र सजग रहन सल्लाह दिन्छु, जनताले कोभिड–१९ को जोखिमविरुद्ध सतर्कता अपनाउनुपर्छ,”राष्ट्रपति कार्यालयबाट उहाँले भन्नुभयो । साथै उहाँले भीडमा नजान, जानु परेमा मास्क लगाउन अनुरोध गर्नुभयो ।






