भक्तपुर । सेवाग्राहीलाई दिएको सेवा, सुविधा तथा कर्मचारीको नियमनका लागि जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालयको छड्के अनुगमन अभियान सुरु गरेको छ । सरकारी कार्यालयबाट पाउने सेवाका बारेमा सेवाग्राहीको गुनासो बढ्दै गएपछि कर्मचारीको नियमित उपस्थिति र सेवाग्राहीको सेवा प्रवाहलाई सहज बनाउने उदेश्यले बिहीबारदेखि कार्यालयको छड्के अनुगमन अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।
प्रशासनले प्रशासकीय अधिकृत उर्मिला खतिवडाको नेतृत्वमा बिहीबार जिल्लाका विभिन्न कार्यालयको अनुगमन गरी सरकारी कार्यालयका सेवाका बारेमा जानकारी लिएको उहाँले बताउनुभयो । प्रजिअ शर्माले भन्नुभयो, “सरकारी तथा सार्वजनिक सेवा प्रवाहका क्रममा सेवाग्राहीले कुनै सास्ती भोग्न नपरोस् र सहजरुपमा सेवा प्रवाह होस् भन्ने हाम्रो उदेश्य हो, हामीले कार्यालय प्रमुखको मासिक बैठकमा पनि सेवा प्रवाह सहज बनाउन छलफल गरिरहेका हुन्छौँ, यद्यपि सेवाग्राहीको गुनासो भने आइरहेकै छ, त्यसैले सरकारी कार्यालयका सेवालाई प्रभावकारी र सहज बनाउन अनुगमनको अभियान नै थालनी गरेका छौँ, यसले सेवामा सुधार आउँछ भन्ने अपेक्षा लिएका छौँ ।”
कार्यालयले बिहीबारदेखि सुरु गरेको छड्के अनुगमनलाई निरन्तरता दिने जनाउँदै जिल्ला प्रशासन कार्यालयमै पनि सेवाग्राहीलाई सहज व्यवस्थापन गरेको र अन्य कार्यालयमा पनि सहज सेवा प्रवाह होस् भन्ने उदेश्य रहेको बताउनुभयो ।
कार्यालयले बिहीबार यातायात व्यवस्था कार्यालय ९सवारी चालक अनुमतिपत्र० मध्यपुर थिमि, यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारी, भूमि सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलगायत सात वटा कार्यालयमा छड्के अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रशासनको छड्के अनुगमनमा निर्धारित कार्यालय समयमा हाजिरी, पोशाक, हेल्पडेस्क, नागरिक वडापत्र, उजुरी पेटिका, पार्किङ व्यवस्थापन, सूचना अधिकारी व्यवस्था, सरसफाइ, अभिलेख व्यवस्थापन, जिन्सी निरीक्षण, सेवाग्राही प्रतिक्षालय, खानेपानीको व्यवस्थालगायतका विषयमा अनुगमन गरिएको छ ।