महेन्द्रद्वार सहकारी संस्थाले सञ्चालनमा ल्याएको सनराइज हर्बल उद्योग सञ्चालनका लागि आफैँ जडीबुटी खेती सुरु गरेको छ । उद्योगलाई प्रशोधनका लागि चाहिने कच्चा पदार्थ उत्पादन गर्ने उद्देश्यले सहकारीले प्रदेश नं १ सरकारको सहयोगमा जडीबुटी खेती सुरु गरेको हो ।
सहकारीले विसं २०७७ मङ्सिरदेखि रु एक करोड लगानीमा मेचीनगर नगरपालिका–८ मा उद्योग सञ्चालनमा ल्याएको हो । पर्याप्त कच्चा पदार्थको अभावमा हप्ता दुई दिनमात्र उद्योग चल्ने गरेको सहकारी सञ्चालक समितिका अध्यक्ष राजु दाहालले बताउनुभयो ।
उहाँका अनुसार उद्योग सञ्चालनका लागि प्रदेश सरकारबाट रु ७५ लाख अनुदान प्राप्त भएको छ । औषधिजन्य पदार्थको खेतीका लागि चालु आर्थिक वर्षमा कुल रु ५० लाखमा ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत सहकारीको लगानी हुने भएको छ ।
उद्योगमा औषधिजन्य कच्चा पदार्थ तेजपत्ता, लेभन ग्रास, सिटोनेला, हर्दी, निम, बकाइनो, मसला, तुलसी बाबरीलगायतका कच्चा पदार्थ प्रशोधन भइरहेको उहाँले बताउनुभयो । सहकारीका सदस्यले उत्पादन गरेका औषधिजन्य कच्चा पदार्थ उद्योगले खरिद गर्दै आएको छ । तर उद्योगलाई चाहिने पर्याप्त कच्चा पदार्थ उत्पादन गर्न नसक्दा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । अध्यक्ष दाहालले दैनिक उद्योगमा दुई मेट्रिक टन कच्चा पदार्थ प्रशोधन गर्ने क्षमता रहेको बताउनुभयो ।
पछिल्लो समय कृषि क्षेत्रलाई प्राथमिकता दिएर अघि बढिरहेको सहकारीले चालु आवबाट औषधिजन्य बिरुवा रोपण सुरु गरेको छ । सहकारीले हात्ती प्रभावित क्षेत्र मेचीनगर–१, ४, ५ र ६ नं वडाको दशगजा क्षेत्रमा सदस्य किसानको खेतबारीमा बिरुवा रोपण सुरु गरेको छ ।
दुई वर्षभित्रमा एक सय बिघा जमिनमा सिटोनेला, लेवन ग्रास र तेजपत्ता लगाउने अभियानमा अघि बढेको सहकारीले हाल ३० बिघा क्षेत्रमा सिटोनेला र लवनग्रास प्रजातिका बिरुवा रोपिसकेको उहाँले बताउनुभयो ।