महाकालीमा पुलसँगै पर्यटकीय गन्तव्य बनाइँदै

  पुष १३, २०७९

दोधारा चाँदनी, पुस १३ : कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुलसँगै पर्यटकका लागि मानव निर्मित ताल निर्माण गरिन लागेको छ ।

महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलसँगै चारवटा पोखरी निर्माण हुनेछन । त्यसकै छेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना छ । महाकाली पुल योजना कार्यालयका सूचना अधिकारी सविना रानाभाटले पुल निर्माणसँगै महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्नका लागि टापुसहितका चारवटा पोखरी निर्माण हुन लागेको बताउनुभयो ।

“पुलको वारिपारि चारवटा पोखरी निर्माण हुन्छन् त्यसमा टापु पनि छ, पर्यटकले बोटिङ गरेर त्यो टापुमा जानसक्छन्”, उहाँले भन्नुभयो, “पोखरीसँगै हरियाली बनाउन पाँच हजार बिरुवा रोप्छौँ, यसले पर्यटक आकर्षित हुनेछन् ।”

महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले महाकाली नदीमा चार लेनको पुल निर्माणको काम सम्पन्न भएको बताउनुभयो ।

उहाँले निर्माणाधीन पुलसम्मको पहुँच मार्ग कालोपत्र सकिन लागेको जानकारी दिनुभयो । “आठ दशमलव छ किलोमिटर कालोपत्रमध्ये सात किलोमिटर सडक निर्माण भइसकेको छ”, उहाँले भन्नुभयो, “पुल ओहोरदोहोरका लागि मात्रै नभएर पर्यटकीय दृष्टिकोणले पनि महत्त्वपूर्ण छ ।”

उहाँका अनुसार पुलको उत्तरपट्टि एक वर्गकिलोमिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुई गरी चारवटा पोखरी निर्माण हुँदैछन । अहिले पोखरीका लागि बाँध बाँध्ने काम भइरहेको छ ।

“पोखरीको बीचमा तीनवटा टापु बन्छन्, त्यहाँ डुङ्गा चढेर आउन जान सकिनेछ”, उहाँले भन्नुभयो, “यहाँ पर्यटकका लागि आकर्षक गन्तव्य बन्नेछ ।” रु तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको उक्त पुलको सबै काम आगामी चैतभित्र सक्ने गरी निर्माण अघि बढेको छ ।

तपाईको प्रतिक्रिया