ऐतिहासिक आँगनमा राष्ट्रनिर्माता सलामी अर्पण गरिने

  पुष १२, २०७९

गोरखा,पुस १२ : गोरखा दरबार सङ्ग्रहालय परिसरमा रहेको ऐतिहासिक ‘ठूलो आँगन’मा राष्ट्रिय एकता दिवसको अवसरमा झण्डोत्तोलन तथा बिगुलद्वारा विजय ध्वनिसहित राष्ट्रनिर्माता सलामी अर्पण थालनी गरिने भएको छ ।

गोरखा सदरमुकाम ठूलो आँगनमा नेपाल एकीकरणका अभियान्ता पृथ्वीनारायण शाहको सालिक, नेपालको राष्ट्रिय झण्डा र नक्सा राखेर राष्ट्र निर्माता सलामी अर्पण सुरु गरिने गोरखा नगरपालिका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । सङ्ग्रहालय परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी नगरप्रमुख रानामगरले यहीँ पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा विजय ध्वनिसहित राष्ट्रनिर्माता सलामी अर्पणको थालनी गरिने बताउनुभयो ।

समग्र गोरखाको पर्यटन प्रवद्र्धनका लागि ठूलो आँगनमा दैनिक बिहानको सूर्योदय र बेलुकीको सूर्योस्तको समयमा पृथ्वीनारायण शाह पालाका नेपाली सेनाको पेसाकमा सेनाको परेड खेल्ने र सलामी अर्पण गर्ने उहाँले बताउनभुयो ।

“ठूलो आँगनमा पृथ्वीनारायण शाहको पालाका समयमा पनि तत्कालीन सेनाले हतियार प्रदर्शनसहित सेनाको परेड खेलाउने ठाउँको रुपमा ऐतिहासिक महत्व भएको ठाउँ हो”, उहाँले भन्नुभयो, “सोही इतिहासको जर्गेना गर्न अबदेखि दैनिकरुपमा तत्कालीन सेनाको पोसाकमा नेपाली सेनाले विजय ध्वनिसहित राष्ट्र निर्माता सलामी अर्पण गर्नेछ ।”

उहाँले यसबाट राष्ट्र निर्माता सलामी हेर्नका लागिसमेत पर्यटक गोरखा आउने वातावरणको सिर्जना हुने बताउनुभयो । “बिहान आउने पर्यटक बेलुकीको सलामी हेर्न बास बस्न सक्ने र बेलुकी आउने पर्यटक बिहानको सलामी हेर्न सदरमुकाममा एकरात बस्ने अवस्थाको सिर्जना हुन्छ”, नगरप्रमुख रानामगरले भन्नुभयो, “यसबाट गोरखाको इतिहासको जर्गेना मात्र होइन पर्यटनको प्रवद्र्धनसमेत हुनेछ ।” गोरखा नगरपालिकाको प्रस्तावमा नेपाली सेनाले गोरखाको इतिहासको जर्गेना गर्न राष्ट्र निर्माता सलामी अर्पणको थालनी गर्न लागेको उहाँले बताउनुभयो ।

“ठूलो आँगनमा राखिने सालिक र त्यसले गर्ने पर्यटन प्रवद्र्धनले सिङ्गो गोरखाले फाइदा लिनसक्छ”, नगरप्रमुख रानामगरले भन्नुभयो, “यसबाट गोरखाको समग्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने निश्चित छ ।”

उहाँले गोरखा नगरपालिकामा नै नेपाली सेनाबाट राष्ट्रिय निर्माता सलामीको थालनी गर्न पाउनु जिल्लाको लागि सौभाग्य भएको बताउनुभयो । “अहिलेको सेना होइन ऐतिहासिक सेनाको पोसाक पनि ऐतिहासिक सेना हुने हो”, उहाँले भन्नुभयो, “यसले गोरखाको इतिहासलाई विश्वास पु¥याएर गोरखाको पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।”

नेपाल एकीकरणको इतिहासमा गोरखाको छुट्टै पहिचान रहेको भन्दै नगरप्रमुख रानामगरले इतिहासलाई जोगाउँदै त्यसको प्रचारप्रसार गरेर जिल्लाले फाइदा लिन सक्नुपर्ने बताउनुभयो । “गोरखा इतिहासलाई पनि जगेर्ना गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “ठूलो आँगनमा पृथ्वीनारायण शाहको सालिक राख्ने, झण्डा राखेर दैनिकरुपमा सलामी दिइन्छ ।”

पुस २७ गते राष्ट्रिय एकता दिवसको दिन देशभर हरेक वर्ष राष्ट्र निर्माता सलामी दिइन्छ । नेपाली सेना रिपुमद्र्धन गणका गणपति हेमराज विष्टले भन्नुभयो, “गोरखा झन ऐतिहासिक जिल्ला भएकाले नेपाल एकीकरणको उद्गमस्थलमा दैनिकरुपमा सलामी दिँदा झन् यसको छुट्टै महत्व हुन्छ ।”

तपाईको प्रतिक्रिया