फोहर छुट्याएर सङ्कलन गर्दैै चन्द्रागिरि नगरपालिका

  पुष ०४, २०७९

काठमाडौँ। फोहर कुहिने र नकुहिने गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहरलाई छ थरी झोलामा छुट्टाछुट्टै सङ्कलन गर्ने तयारी सुरु गरेको  छ ।

नगरवासीलाई घरबाट निस्किने फोहरको अधिकांश भाग आफैँ व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा घरलाई छ वटा अगल–अलग झोला वितरण गरिनेछ । नगरपालिका प्रमुख घनश्याम गिरीका अनुसार यसले सङ्कलन हुने फोहरको परिमाण उल्लेख्यरुपमा घटाउन र बाँकी फोहर दीर्घकालीनरुपमा व्यवस्थापन गर्न यस्तो कार्यक्रम सुरु गरिएको हो ।

यस अन्तर्गत नगरवासीलाई हरियो, रातो, कालो, सेतो, नीलो र पहेँलो गरी छ प्रकारका झोला वितरण गरिनेछ । साथै उनीहरुलाई हरियो झोलामा तरकारीलगायतका खाद्यपदार्थबाट निस्किएका फोहर राख्न भनिने छ । सम्भव भएसम्म हरियो झोलामा सङ्कलन हुने फोहरबाट मल बनाउन उत्प्रेरित गर्ने नगरपालिकाको अवधारणा छ ।

यसैगरी रातो रङको झोलामा सिसा र सिसाजन्य फोहर राख्न र त्यसलाई आफैँले कवाडीमा बेच्न प्रेरित गरिनेछ । कालो झोलामा प्लाष्टिक र प्लाष्टिकजन्य फोहर राख्ने र त्यसलाई पनि नगरवासी आफैँले बेच्नका लागि प्रेरित गरिनेछ ।सेतो झोलामा कागज र कागजजन्य फोहर थुपार्ने र त्यसलाई समेत कागज पुनः प्रयोग गर्नेलाई बेच्नका लागि प्रेरित गरिने छ ।

फलाम र कवाडीजन्य अन्य सामान थुपार्न निलो रङको झोला उपलब्ध गराइनेछ । त्यसलाई पनि नगरवासी आफैँले बेच्न सक्नेछन् । यसैगरी व्यक्तिगत तवरमा व्यवस्थापन गर्न नसकिने स्यानिटरी प्याड, डाइपरआदि फोहरलाई पहेँलो झोलामा सङ्कलन गर्न प्रेरित गरिने छ ।

घरको फोहर त्यसको प्रकृतिअनुसार अलग–अलग भाँडामा सङ्कलन गर्ने बानी लगाउन यसो गरिएको नगरप्रमुख गिरी बताउनुहुन्छ । अहिले प्लाष्टिकको झोलामा अलग–अलग फोहर सङ्कलन गर्न लगाउने र पछि विस्तारै बलियो भाडा दिने सोचाइ नगरपालिकाको छ ।

तपाईको प्रतिक्रिया