काठमाडौँ, मङ्सिर २९ : भारतीय कलाकार विवेक ओवरायले पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेकसहित विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कलाकार ओवरायले रु दुई हजार एक सयको रसिद काटी पञ्चामृत अभिषेकसहित विशेष पूजा गर्नुभएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । विवेकका पिता सुरेश ओवराय पनि नेपाल भ्रमणका बेला पशुपतिनाथमा दर्शन एवं पूजा आराधनाका लागि आउने गर्नुभएको जनाइएको छ ।
बलिउड नायक ओवराय परिवारसहित घुम्न बुधबार नेपाल आउनुभएको थियो । धेरै भारतीय कलाकारले नेपाल भ्रमणका बेला पशुपतिनाथमा दर्शन एवं पूजा गर्ने गर्नुभएको पनि कोषले जनाएको छ । यसले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा पनि योगदान गरिरहेको छ ।
पशुपतिनाथलाई विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले आस्थाको केन्द्रका रूपमा मान्ने गरेका छन् । विश्वका जुनसुकै कुनामा रहेका हिन्दू पनि जीवनकालमा एकपटक पशुपतिनाथको दर्शन गर्न चाहन्छन् ।
पशुपतिमा धनुर्मास पूजाको तयारी
यसैबीच कोषले पशुपतिनाथमा धनुर्मास पूजाको तयारी गरेको छ । पुस ४ गते सोमबार राति पशुपतिनाथ मन्दिरमा धनुर्मास पूजा गरिने पनि महाशाखा प्रमुख पराजुलीले जानकारी दिनुभयो । खिचडीको भोग पनि पशुपतिनाथमा पुस ४ गते राति नै लगाइने छ ।
पुस ५ गते बिहान १० बजेसम्म यो पूजा चल्ने छ । धनुर्मास पूजा सकिएपछि भने बिहान १० बजेदेखि नै मन्दिर बन्द गरिने पनि कोषले जनाएको छ । पशुपतिनाथमा प्रत्येक वर्ष पुस महिनामा धनुर्मास पूजा गर्ने प्राचीनकालदेखिको परम्परा छ ।