कहिले निर्माण होला रुकुमकोटको पाहुना घर ?

  मंसिर २७, २०७९

मुसीकोट, मङ्सिर २७ : रुकुमकोट कमलपोखरीको उत्तरपूर्व केही संरचना निर्माणको काम अलपत्र छ । संरचनामा रङ लगाएर छोडिएको छ । वरपर झाडी मात्र उम्रेको छ । काठ, ढुङ्गा, बालुवा यत्रतत्र छरिएका छन् । ती भवन निर्माण भएर सञ्चालनमा आउने कुनै छाँट देखिएको छैन ।

ती संरचना निर्माण गर्न थालेको करिब छ वर्ष नै पुग्न लागि सक्यो । पाहुनाघर भनेर निर्माण थालेका ती भवनले पूर्णता पाउन सकेका छैनन् । पाहुना घर निर्माण गर्ने भन्दै दुई वटा भवन निर्माणको काम अलपत्र परेका छन् । लामो समयसम्म पनि ती भवनले पूर्णता पाउन सकेका छैनन् ।

ती भवन निर्माण छ वर्ष पुुग्नै लाग्यो । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नसकेको हो । पछिल्लो समय ठेकेदार कम्पनी सम्पर्कविहीन हुँदा भवन निर्माण अलपत्र परेको छ । विसं २०७४ असार २० मा सरकारको सघन सहरी तथा भवन निर्माण आयोजना दाङको आर्थिक सहयोगमा भवन निर्माण थालिएको हो ।

गाल्भा क्याराभान जेभीले रु दुई करोड ७५ लाखमा दुई वर्षभित्र निर्माण सक्ने गरी जिम्मा लिएको आयोजनाका सव–इन्जिनियर सुधीर नेपालीले बताउनुभयो । कम्पनीले त्यसयता पाँच पटक म्याद थप गरिसकेको छ ।

यस क्षेत्रमा घुमघामका लागि आउने पर्यटक तथा पाहुनाका लागि खान–बस्न सहज होस् भनेर यसको निर्माण थालिएको हो । दश कोठे भवनको हालसम्म ८५ प्रतिशत निर्माण सकिएको आयोजनाले जनाएको छ ।

सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधनअनुसार अब एकपटक यसको म्याद थप्न पाउने व्यवस्था भए पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको सव–इन्जिनियर नेपालीको भनाइ छ  । पाहुना घर निर्माणको लागि स्थानीयतहले पनि ताकेता नगरेको देखिन्छ ।

तपाईको प्रतिक्रिया