स्व गजेन्द्रनारायण सिंह स्मृति पत्रकारिता पुरस्कार पत्रकार खत्रीलाई

  मंसिर २०, २०७९

मलङ्गवा, मङ्सिर २० : प्रथम स्व गजेन्द्रनारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार सर्लाहीका पत्रकार जनार्दन खत्रीलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सर्लाहीको ११ औँ वार्षिक साधारणसभामा गोरखापत्रकर्मी खत्रीलाई सम्मानपत्रसहित रु १५ हजार पाँच सय ५५ नगद राशिको पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

लालबन्दी नगरपालिका–१३ स्थित पत्थरकोटमा आज आयोजना गरिएको साधारणसभामा विकास निर्माण, सुशासन, सामाजिक सद्भाव र भाइचारा कायम गराउनमा योगदान गर्नुभएको भन्दै पत्रकार खत्रीलाई सम्मानित गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले बताउनुभयो । आगामी दिनमा जिल्लामा सक्रियरूपमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

पूर्वसञ्चारकर्मी तथा मधेस प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा राजेश झा ९अहिराज० को सहयोगमा नेपाल पत्रकार महासङ्घ सर्लाहीका निवर्तमान अध्यक्ष विश्वनाथ ठाकुरले २०७६ सालमा स्व गजेन्द्रनारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कारका लागि रु ५१ हजारको कोष स्थापना गर्नुभएको थियो ।

यसैबीच नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको ११ औैँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा प्रेस काउन्सिल मधेस प्रदेशका अध्यक्ष स्व शिवहरि भट्टराईको तस्बीरमा माल्र्यापण गर्दै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।

भट्टराई गएको शनिबार नै आयोजना गरिएको पत्रकार महासङ्घ सर्लाहीको साधारणसभामा आउँदा बास बसेको पत्थरकोटस्थित एक रिसोर्टमा मृत फेला पर्नुभएको थियो । त्यसदिन स्थगित गरिएको साधारणसभा आज सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया