जनकपुरधाम, मङ्सिर १७ : मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधनले स्तब्ध बनाएको बताउनुभएको छ ।
मुख्यमन्त्री राउतले आज शोक वक्तव्य जारी गर्नुहुँदै अध्यक्ष भट्टराईको निधनले मधेस प्रदेशको पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । दिवङ्गत अध्यक्ष भट्टराईप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै मुख्यमन्त्री राउतले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
यसैगरी मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पनि आज शोक वक्तव्य जारी गर्नुहुँदै अध्यक्ष भट्टराईको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको ११औँ वार्षिक साधारणसभामा सहभागी हुन सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्ट पुग्नुभएका अध्यक्ष भट्टराई आज बिहान मृत फेला पर्नुभएको थियो । ६७ वर्षीय भट्टराई शुक्रबार बेलुका उक्त रिसोर्टमा बस्नुभएको थियो ।
सप्तरी सदरमुकाम राजविराज निवासी भट्टराई मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्ष भएपछि जनकपुरधाममा बस्दै आउनुभएको थियो । शुक्रबार राति खाना खाएर सुत्नुभएका भट्टराई बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा ढोका नखुलेको र झ्यालबाट हेर्दा मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले बताउनुभयो । भट्टराईको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ ।