संंविधानको रक्षाका लागि गठबन्धन निर्माण : आचार्य

  कार्तिक १३, २०७९

काठमाडौँ, कात्तिक १३ : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नरहरि आचार्यले संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले आज टोखामा आयोजना गरेको ‘खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’ मा उहाँले कांग्रेस नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्नका लागि वर्तमान गठबन्धन निर्माण भएको बताउनुभयो । “मुलुकलाई अप्ठ्यारो पर्दा हरेक समय कांग्रेसले निकास दिँदै आएको छ, समृद्ध मुलुक निर्माणमा पनि कांग्रेसले नेतृत्व गर्छ”, उहाँले भन्नुभयो ।

नेता आचार्यले खेलाडीले आफ्नो ऊर्जावान् समयमा देशलाई खेलकुद क्षेत्रबाट गरेको योगदानको उच्च सम्मान गर्नुभयो । खेलकुदमार्फत राष्ट्रलाई चिनाउन खेलाडीको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ थियो ।

कांग्रेस नेता एवं काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले हरेक युवालाई खेलकुद क्षेत्रमा जोड्न जरुरी रहेको बताउनुभयो । “खेलकुदले समाज र देशलाई चिनाउँछ, व्यक्तिलाई अनुशासित बनाउने काम गर्छ, खेलकुदको सकारात्मक पक्षलाई हाम्रो समाजमा स्थापित गर्र्नु जरुरी छ”, उहाँले भन्नुभयो ।

नेता पौडेलले युवामैत्री सहर निर्माण गर्न खेलकुदमैत्री वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । युवाको व्यक्तित्व विकासका लागि खेलकुद क्षेत्रमा सरकारले लगानी गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले टोखामा उत्पादन हुने चाकूलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजाने आफ्नो योजना रहेको सुनाउनुभयो । काठमाडौँ क्षेत्र नं ५ लाई सांस्कृतिक सहरका रुपमा विकास गरिने उहाँको भनाइ थियो । नेता पौडेलले सांसद विकास कोषलाई पारदर्शी ढङ्गले सञ्चालन गर्ने बताउनुभयो ।

सङ्घका सचिव मनिष जोशीले मुलुकको खेलकुद क्षेत्रको विकासका लागि नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले खेलाडीलाई ऊर्जा थप्नका लागि विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा फुटबलका खेलाडी रामचन्द्र श्रेष्ठ, मनिन्द्रराज जोशी, वक्सिङका खेलाडी अर्जुनबहादुर केसी, पुष्पराज जोशी, क्रिकेटका खेलाडी पारस खड्का, पर्वतारोही पूर्णीमा श्रेष्ठलगायत तीन दर्जनभन्दा बढी खेलाडीलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया