गण्डकीलाई समृद्ध बनाउने उद्घोषसहित एमालेको चुनावी प्रतिबद्धता सार्वजनिक

  कार्तिक १३, २०७९

पोखरा, कात्तिक १३ : आसन्न मङ्सिर ४ गतेको निर्वाचनका लागि नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले नागरिकका आधारभूत आवश्यकता पूरा गर्दै प्रदेशलाई समृद्ध बनाउने उद्घोषसहित आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ ।

“सुशासन, समृद्ध र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार” भन्ने नाराका साथ एमालेले २४ पेजको प्रतिबद्धतापत्र पत्रकार सम्मेलनमार्फत आज पोखरामा सार्वजनिक गरिएको हो । एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री जगत विश्वकर्माले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउने स्पष्ट योजना एमालेसँग भएको बताउनुभयो ।

उहाँले करको दर नभई दायरा बढाएर राजस्व वृद्धि गरी प्रदेशलाई आर्थिक रूपमा बलियो बनाउने बताउनुभयो । “समृद्ध प्रदेश र सुखी नागरिक” निर्माण गर्ने दीर्घकालीन सोच एमालेको नेतृत्वमा प्रथम पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०७६र७७, २०८०र८१) निर्माण गरी योजनाबद्ध विकासको सुरुआत भएको उहाँले बताउनुभयो ।

प्रतिबद्धतापत्रमा पार्टीको दीर्घकालीन रणनीतिक लक्ष्य समाजवाद निर्माण गर्ने र यसको लागि उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकास गर्नुका साथै वितरण प्रणालीमा आम जनताको पहुँच स्थापित गर्ने कुरा उल्लेख गरिएको छ । अबको २५ वर्षमा समृद्ध प्रदेश र सुखी नागरिक निर्माण गर्दै समाजवाद उन्मुख हुने पार्टीको दीर्घकालीन दृष्टिकोण रहेको र प्रदेशका नागरिकलाई सक्षम बनाउँदै समावेशी समाज र सवल अर्थतन्त्र भएको प्रदेश निर्माण गरिने जनाइएको छ ।

पहिलो तीन वर्ष सरकारमा रहेर प्रदेशको संस्थागत विकास र सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि हासिल गरेको एमालेको दाबी छ । पर्यटकीय सहरलाई दृष्टिगत गरी सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटनको सम्भावनाको आधारमा प्रदेशमा रहेका पालिकालाई पर्यटकीय पहिचान प्रदान गरी प्रवद्र्धन गरिने जनाइएको छ । भूमिको वैज्ञानिक व्यवस्थापन र आधुनिक कृषि विकासका लागि सङ्घीय सरकार र स्थानीय तहसँगको सहकार्यमा भूमि बैंक स्थापना र सञ्चालन गरी व्यावसायिक कृषि आयोजना विकासलाई सहज बनाइने एमालेले भनेको छ ।

पोखरा मुग्लिङ सडकखण्डमा फुट पाथ र साइकल लेनको विकास, पोखरालगायत प्रदेशका मुख्य सहरमा वायु प्रदूषण अनुगमन केन्द्र स्थापनाका साथै ताल तथा जलाधार क्षेत्रका उपल्लो र तल्लो तटीय क्षेत्रको संरक्षण र उपभोगमा स्थानीय समुदायलाई उत्प्रेरित गर्ने र बाँदरको समस्या समाधानका लागि विशेष योजना निर्माण गरी स्थानीय तहसँग सहकार्य गरिने उल्लेख गरिएको छ ।

आधारभूत खानेपानी सेवामा शत प्रतिशत नागरिकको पहुँच स्थापित गराइने उल्लेख गर्दै प्रतिबद्धतापत्रमा गण्डकी प्रदेश उज्यालो प्रदेशको सङ्कल्प पूरा गरिने, अल्पसङ्ख्यक, दलित र घरवारविहीन सबै गरिब परिवारलाई आवासको व्यवस्था गरी गरिब घर परिवारको जीवनस्तर उकास्न रोजगारीका लागि सीप प्रदान गरिने भनिएको छ ।

प्रत्येक वडामा कम्तीमा एक प्राथमिक स्वास्थ्य केन्द्र र प्रत्येक पालिकामा एक अस्पताल निर्माण गरी स्वास्थ्य सेवाका प्राविधिक जनशक्ति व्यवस्थापनसहित सेवा प्रवाहलाई प्रभावकारी बनाइने एमालेले जनाएको छ ।

युवालाई “पढाइ कमाइ र दबाइ” का लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिन उत्प्रेरित गरिने, अपाङ्गता भएका व्यक्तिका लागि विशेष शिक्षाको व्यवस्था गर्न विशेष विद्यालय सञ्चालन गरिने, प्रदेशलाई अपुग जनशक्ति व्यवस्थापन गरी सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने प्रतिबद्धतापत्रमा छ ।

एमालेले ‘एक घर, एक रोजगार’ अभियानमार्फत रोजगार नभएको परिवारमा त्यसको व्यवस्था गर्ने घोषणा गरेको छ । एमालेले अब सरकार बनेमा प्रदेश प्रहरी ऐन पूर्ण कार्यान्वयनमा ल्याउने जनाएको छ । प्रदेशका अन्नपूर्ण, मनास्लुजस्ता संरक्षण क्षेत्रबाट प्राप्त हुने राजस्वको २५ प्रतिशत प्रदेश सरकारले पाउने व्यवस्था गर्ने एमालेको घोषणा छ । त्यसबाहेकको २५ प्रतिशत स्थानीय पालिका र बाँकी सङ्घ सरकारलाई दिने योजना एमालेले बनाएको छ ।

विगतका अभ्यासलाई हेर्दै नागरिकका आवश्यकता र चाहनालाई प्राथमिकतमा राखेर योजना तय भएको प्रतिबद्धता निर्माण कमिटीका संयोजक एवं एमाले गण्डकी सचिव धनञ्जय दवाडीले बताउनुभयो । उहाँले गण्डकी प्रदेशमा १४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका जनाउँदै उनीहरूको पहिचानसहित परिचयपत्र वितरण गरी राहतका कार्यक्रम ल्याउने बताउनुभयो ।

एमाले गण्डकीका अध्यक्ष नवराज शर्मा, उपसचिव तथा प्रचार विभाग प्रमुख रश्मी आचार्यले प्रतिबद्धतापत्रमा विगतमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारका उपलब्धि र अधुरा योजना सहितका प्राथमिकतालाई समेटिएको बताउँदै त्यसलाई पूरा गर्न एमाले सरकार प्रतिबद्ध रहने बताउनुभयो ।

तपाईको प्रतिक्रिया