सुरुङ्गा (झापा), कात्तिक १२ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गर्नुभएको छ । उहाँले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पु¥याउने दाबी गर्नुभयो ।
शुक्रबार गृहजिल्ला झापा आउनुभएका अध्यक्ष ओलीले आज दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै भन्नुभयो, “प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओली आज दिनभर झापा क्षेत्र नं ५ मा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशनसमेत दिनुभयो ।
अघिल्लो निर्वाचनको स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “अघिल्लो निर्वाचनमा हामीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेका थियौँ तर, दुईतिहाइ बहुमत ल्याउन एक सय ३८ सिट चाहिन्थ्यो । अहिले हामी एक्लै एक सय ५० सिट जित्ने योजनाका साथ अघि बढेका छौँ र जित्छौँ पनि ।”
झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । झापा क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा हुनुहुन्छ भने झापा–५ मा ओली उम्मेदवारका रूपमा उभिनुभएको छ । उहाँले आम मतदातालाई झापा–३ मा हलोमा मतदान गर्न र झापा–५ मा सूर्य चिह्नमा मतदान गर्न आग्रहसमेत गर्नुभयो ।






