भक्तपुर, कात्तिक ८ : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संविधान, लोकतान्त्रिक गणतन्त्र र सङ्घीयता बचाउनका लागि पाँच दलीय गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ ।
नेपाली कांग्रेस भक्तपुर नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं नेपाल संवत् ११४३ नयाँ वर्षको भित्तेपात्रो सार्वजनिक गर्दै उहाँले गठबन्धन चुनावी अभियान मात्र नभई राष्ट्रलाई सङ्कटबाट जोगाउनका लागि पनि भएको बताउनुभयो ।
सहमहामन्त्री परियारले लोकतन्त्र र गणतन्त्र अझै खतरामा रहेकाले एमालेले संविधान धुजाधुजा पार्ने कार्य गरेकाले देशको संविधान, लोकतन्त्र र राष्ट्रियता बचाउन पनि आउँदो निर्वाचनमा गठबन्धन अपरिहार्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमालेको साँठगाँठ दक्षिणपन्थी र राजावादीसँग छ, त्यसका विरुद्ध पाँच दलीय गठबन्धन बनेको हो, चुनावपछि पनि यो गठबन्धनले निरन्तरता पाउँछ, त्यसैले हिजोका दिनमा रुखमा भोट हाल्नेले पनि अब हसियाँ हथौडा र कलममा भोट हाल्न नहिच्किचाउनुसु ।”
टिकट बाँड्दा पार्टीको केही कमीकमजोरी रहेको स्वीकार्दै परियारले यसको जिम्मेवारी आफूले पनि लिने बताउनुभयो । उहाँले यस्ता कमजोरीलाई बिर्सेर निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनलाई विजयी बनाउन कार्यकर्ता हिँड्नुपर्ने बताउनुभयो । कार्यक्रममा उहाँले नेपाल संवत् ११४३ नयाँ वर्षको भित्तेपात्रो सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा कोइराला, मदनकृष्ण श्रेष्ठ, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेल, राज्यमन्त्री रजनी जोन्छे, नेता बाबुराजा जोशी, नारायण तमखुलगायतले निर्वाचन एकमात्र दृष्टि रहेको र यसलाई सफल पार्ने बताउनुभयो ।






