बीसौँ महाधिवेशनका मार्गदर्शक सिद्धान्त कार्यान्वयनको व्यवस्था हुँदै

  कार्तिक ०८, २०७९

बेइजिङ, कात्तिक ८ : चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले सिपिसीको आइतबार सम्पन्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त राज्यका सबै निकायमा लागु गर्ने व्यवस्थाका निम्ति सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।

सिपिसी केन्द्रीय समितिको राजनीतिक ब्युरोको आज यहाँ भएको बैठकमा उहाँले उक्त निर्देशन दिनुभएको हो । बीसौँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्तको अध्ययन, प्रचारप्रसार र कार्यान्वयन गर्ने व्यवस्था मिलाउने सन्दर्भमा उक्त बैठक आयोजना गरिएको हो । केन्द्रीय समितिका महासचिव सीको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय समितिको केन्द्रीकृत, एकीकृत नेतृत्वलाई सुदृढ र सुरक्षित गर्ने नियम र कार्य आचरणसम्बन्धी आठ बुँदे निर्णय कार्यान्वयन गनबारेमा विस्तृत रूपमा विचारविमर्श भएको थियो ।

सोमबार महासचिव सीले सिपिसीको २० औँ महाधिवेशनका मार्गदर्शक सिद्धान्तको अध्ययन, प्रचार र कार्यान्वयन गर्न जनमुक्ति सेनालाई निर्देशन दिनुभएको थियो । उच्च सैनिक अधिकारीहरूको बैठकमा उहाँले जनमुक्ति सेनाको शतवार्षिकीका लागि निर्धारित लक्ष्य हासिल गर्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त सहयोगी हुने बताउनुभएको थियो । राष्ट्रपति सी केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया